पार्टी प्यालेसलाई आपत्कालीन आश्रयस्थल बनाइने



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंका पार्टी प्यालेसलाई भूकम्पपछिको आपतकालिन आश्रयस्थल पनि हुने वातावरण बनाइने भएको छ। यसका लागि नेपाल चेम्बर अफ कमर्सको अगुवाईमा शुक्रबार राजधानीमा त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल चेम्बर अफ कमर्स, इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपाल र नेपाल इमर्जेन्सी सेल्टर एन्ड डिजास्टर प्रिभेन्सन एजुकेसन एड जापानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रमा चेम्बरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कैलाशकुमार बजिमय, इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालका तर्फबाट उपाध्यक्ष शिवभक्त रञ्जित र नेपाल इमर्जेन्सी सेल्टर एन्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानका तर्फबाट प्रमुख निर्देशक मोरिटा ताकेमित्सुले हस्ताक्षर गर्नुभएको छ। समझदारीपत्रमा आपतकालीन आश्रयस्थलको निर्माण, भूकम्पीय जोखिमबाट बच्ने उपायको लागि शैक्षिक सहयोग गर्ने उल्लेख छ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाति भन्ने नेपाली उखानजस्तै भूकम्प अगाडि नै सुरक्षित आपतकालीन आश्रयस्थल निर्माण जोड दिनुभयो। नेपाल विश्वमै ११आंै भूकम्पीय जोखिमको ठाउँं भएको उल्लेख गर्दै उहाँले सुरक्षित आपतकालीन आश्रयस्थलको विकास अहिले नै हुनुपर्नेमा जोड दिनुभयो।

नेपाल चेम्बर अफ कमर्सले डिजास्टर म्यानेजमेन्ट सेल गठन गरी काम गरिरहेको चर्चा गर्दै उहाँंले डिजास्टर फन्ड गठन हुनुपर्नेमा जोड दिनुभयो। गएको भूकम्पमा नेपाल चेम्वर अफ कमर्सले राहत संकलन गरी वितरण गरेको जानकारी उहाँंले दिनुभयो। इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालका अध्यक्ष शिवभक्त रञ्जितले भूकम्पीय जोखियुक्त काठमाडौंमा आपतकालीन आश्रयस्थलका लागि पार्टी प्यालेसहरूलाई प्रयोग गर्ने बताउनुभयो। यसको लागि ती ठाउँमा आवश्यक भौतिक पूर्वाधार बनाउने काम समझदारीपत्रपछि हुने उहाँले बताउनुभयो।

नेपाल इमर्जेन्सी सेल्टर एन्ड डिजास्टर प्रिभेन्सन एजुकेसन एड जापानका प्रमुख निर्देशक मोरिटा ताकेमित्सुले जापानका अनुभव सुनाउँंदै नेपालमा सुरक्षित आपतकालीन आश्रयस्थल बनाउन आफूहरूले सहयोग गर्न चाहेको स्पष्ट पार्नुभयो। काठमाडौंमा करिब १ सय ३० वटा पार्टी प्यालेस छन्। पछिल्लो भूकम्पका बेला पनि ती पार्टी प्यालेस पीडितका आश्रयस्थल बनेको थियो।

प्रतिक्रिया दिनुहोस्