राष्ट्रिय क्षयरोग केन्द्रको नवनिर्मित अस्पताल भवन वैधतामाथि थिमी नगरपालिकाको प्रश्न



भगवती तिमिल्सिना, भक्तपुर
थिमी नगरपालिका–४ मा रहेको राष्ट्रिय क्षयरोग केन्द्रले निर्माण गरेको अस्पतालको काम आधाआधी भएपछि नगरपालिकाले निर्माणमा रोक लगाएको छ। अस्पतालले नगरपालिकासँग गर्नुपर्ने कानुनी प्रक्रियासमेत पूरा नगरी हचुवाको भरमा भवन निर्माण गर्न थालेपछि उक्त भवनको निर्माण कार्य रोकिएको छ।
यता विश्व क्षयरोग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोही विवादित एकचौथाई निमार्ण कार्य भइसकेको भवन पुनः शिलान्यास गराउने भन्दै क्षयरोग केन्द्रले रचना बनाइरहेको छ। उक्त विवादित भवनको शिलान्यास प्रधानमन्त्रीले गर्ने भन्दै सो केन्द्रका प्रमुख डा. केदारनरसिंह केसीले निमन्त्रणा समेत वितरण गर्नुभएको छ।
तीन वर्ष अघिदेखि भवन निर्माणस्थलको जग्गाधनी पुर्जा नै नदेखाई बिनानक्सा कसरी अस्पताल भवन बनाउन शुरू गरिएको हो? काम रोक्नु भनी थिमी नगरपालिकाले २ महिनाअघि नै निर्माण कार्य रोकेको थियो। अस्पताल र नगरपालिकाबीच ताला खोल्ने भन्दै यही चैत ६ गते थिमी नगरपालिका प्रमुख र अस्पतालका निर्देशकबीच समझदारी भएको थियो।
समझदारीमा थिमीका बासिन्दाले रोजगारी पाउनुपर्ने, अस्पताल सञ्चालन नगरपालिकाको स्वीकृतिमा हुनुपर्ने, बिरामी शुल्कमा छुटलगायतका बँुदा समावेश गरिए पनि ताला खुलाउनुको मूल उद्देश्य भनेको प्रधानमन्त्रीलाई प्रमुख अतिथि बनाउने रहेको स्रोतको दाबी छ।
यता ३ वर्षअघि नै निर्माण कार्य शुरू गरेको भवनको कसरी शिलान्यास अहिले हुन्छ भन्दै अस्पतालका कर्मचारीहरूले प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री ओलीलाई समेत स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरूले उक्त भवनको शिलान्यासको औचित्य नभएको जनाएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। निमन्त्रणा वितरण भइसकेको भए पनि विषय विवादास्पद भएकाले प्रधानमन्त्रीले अहिलेसम्म कार्यक्रममा जाने एकिन गरिनसक्नुभएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
पछिल्लो समय डा.केसी क्षयरोग केन्द्रको निर्देशक भएयता चितवन, बुटवल, नगरकोट, धुलिखेललगायतका क्षेत्रमा आन्तरिक पर्यटकका रूपमा कहिले कर्मचारी, कहिले पत्रकार, कहिले कर्मचारीका साथ सेभ द चिल्ड्रेनका योजनाविद् जस्ता व्यक्तिहरूलाई घुमाउँदै ठूला होटलको भात र भत्तामा रमाउँदै र कार्यक्रमका नाममा कमाउँदै गर्नुभएको क्षयरोग केन्द्र स्रोतले आरोप लगाएको छ।
उहाँ यही चैत २० गते उमेर हदका कारण अवकास पाउने अवस्थामा रहनुभएका डा. केसीले जथाभावी निर्णय गरेको भन्दै कर्मचारीले आक्रोश व्यक्त गरेका छन्। यो अवधिमा केन्द्रको बजेट कसरी खर्च गरिसक्ने भन्नेमा उहाँ सक्रियरूपमा आफ्नो शक्ति प्रयोग गर्दै रहनुभएको आरोप केन्द्रका कर्मचारीहरूले लगाइरहेका छन्।
उहाँले क्षयरोग केन्द्रमा जापान सरकारले उपलब्ध गराएको व्यवस्थित जेनेरेटर चालू अवस्थामा रहँदारहँदै त्यसलाई सञ्चालनमा ल्याउनुको सट्टा नयाँ जेनेरेटर खरिद गरेर क्षयरोग केन्द्रको कोष दुरूपयोग गर्नुभएको भन्दै अस्पतालका अधिकांश कर्मचारीले विरोध जनाएका छन्।
विश्व क्षयरोग दिवस मनाउने नाममा होस् या सामान खरिद, प्रतिवेदन लेखन, तालिम हरेक क्षेत्रमा घोटाला भएको भन्ने विषयमा डा.केसीको समूहविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालयलगायतका निकायमा छानविनका लागि गोप्य पत्र पठाइसकेको बुझिएको छ।
नगरपालिका र अस्पतालबीच भएको सहमति
थिमी नगरपालिका–४ अन्तर्गत रहेको राष्ट्रिय क्षयरोग केन्द्रको नवनिर्मित अस्पताल भवनको नगरपालिका तथा वडा कार्यालयमा हालसम्म नक्सा दर्ता पनि भएको छैन। वडाभित्रका अन्य घर यसरी बनेको अवस्थामा सबै कानुनी प्रक्रिया वडा कार्यालयले नै गर्ने र रोक्का तथा फुकुवा गर्ने कार्य वडा कार्यालयको रोहवरमा हुने गरेको भए पनि अस्पताल भवनको फुकुवा मेयर र अस्पतालका निर्देशककबीचको सम्वादका आधारमा भएको बुझिएको छ। ‘वडामा नक्सा दर्ता भएको पनि छैन, वडाको रोहवरमा ताला खुलेको पनि हैन’ –वडा कार्यालयका एक कर्मचारीले नेपाल समाचारपत्रको जिज्ञासा मेटाउँदै भने।
यता २०७४ साल चैत ६ गतेका दिन नगरप्रमुख र अस्पतालका निर्देशकको गोप्य सम्वादपछि गरेको सहमतिपत्रमा नगरपालिका र अस्पतालबीच सहमति भएको छ। सहमतिअनुसार सिलबन्दी खोलेर नक्सा पासका लागि नगरपालिकाले पत्राचार गरेको जनाएको छ। क्षयरोग केन्द्रका निर्देशक डा.केसी र थिमी नगरपालिकाका तर्फबाट मेयर मदनसुन्दर श्रेष्ठले हस्ताक्षर गर्नुभएको पत्रको सहमतिका बँुदाहरू यस प्रकार रहेका छन् ः
अस्पतालका तर्फबाट ः
१) कर्मचारी भर्नामा सम्झौताको मितिदेखि नै प्राविधिक अप्राविधिक श्रेणीविहीन कर्मचारी करारमा नियुक्ति गर्दा ल्याब टेक्नोलोजिस्ट, ल्याब व्वाय, पियन, माली चालकजस्तो पदमा नगरपालिकाको सिफारिसमा ५० प्रतिशत कोटामा रोजगारी ठिमी नगरपालिकाका स्थानीयवासीलाई उपलब्ध गराउने।
२) स्थानीयस्तरमा स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा पर्ने प्रभाव र सोको न्यूनीकरणका लागि पूर्व सावधानी र सजकता अपनाउने।
३) निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नीतिलाई जिल्लाभरिकालाई २५ प्रतिशत र ठिमी नगरपालिकाका बासिन्दालाई ७५ प्रतिशत उपलब्ध गराउने।
थिमी नगरपालिकाका तर्फबाटः
१) राष्ट्रिय क्षयरोग केन्द्रको भोगचलन गरिरहेको जग्गाको आवश्यक व्यवस्थापन गर्ने।
२) अस्पताल व्यवस्थापनमा आवश्यक सहयोग र निर्देशन तथा अनुगमन गर्ने।
३) अस्पताल सञ्चालनमा समन्वय र सहकार्य गर्दै भौतिक एंव सामाजिकरूपमा अभिभावकीय भूमिका निर्वाह गर्ने।
यही चैत्र ६ गते नै सिलबन्दी खोल्नेबारे गरिएको अर्को सम्झौता यसप्रकार रहेको छ ः
सिलबन्दी खोल्नेबारे ः
यस नगरपालिकाबाट २०७४।९।१३ गते क्षयरोग केन्द्र (चेस्ट अस्पताल) को अस्पताल भवनको निर्माणाधीन भवन क्षेत्राधिकारलाई सीमाकंन गरी सिलबन्दी गरिएकोमा त्यहाँबाट नक्सा पासका लागि यस नगरपालिकासमक्ष पेस हुन आएको मूल गेट र निमार्णाधीन क्षेत्रको सिलबन्दी खोल्नका लागि यही चैत ६ गतेको निर्णयअनुसार अनुरोध छ।
नक्सा पासका लागि राजस्व भुक्तानी गर्नुहुन अनुरोध छ भन्ने व्यहोराको पत्र नगरपालिकाले क्षयरोग केन्द्रलाई पठाएको नगरपालिका स्रोतले जनाएको छ। यता नगरप्रमुख र निर्देशकबीच भएको सम्झौताका बारेमा वडा कार्यालय भने अझै अनभिज्ञ रहेको छ।

प्रतिक्रिया दिनुहोस्