नेपाल सगरमाथाको उचाइ नाप्दै, लेबलिङको काम जेठमा सकिने



प्रशान्त वली, काठमाडौं
सगरमाथाको उचाइ मापन प्रक्रिया तीव्ररूपमा अघि बढेको सरकारले बताएको छ। मापनका लागि अहिले नापी विभागले स्थलगत रूपमा प्राविधिकको टोली खटाएको छ। सिरहाको मिर्चैयादेखि लेबल नाप्न शुरू गरिएको विभागका महानिर्देशक गणेशदत्त भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘१६ जना प्राविधिकको टिमले लेबल नापिरहेको छ। जेठसम्म उक्त टिम सोलुखुम्बु पुग्छ। जे होस् सरकारले पूर्ण सहयोग गर्यो भने सगरमाथाको उचाइ नाप्ने कार्य छिट्टै सकिन्छ। हामी काममा तीव्रताका साथ लागिरहेका छौं।’

विश्वको सर्वोच्च शिखरका रूपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तर्राष्ट्रियरूपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो।

मापन कार्य शुरू गर्नुपूर्व विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तर्राष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार पारिएको थियो।

सो छलफलमा सगरमाथाको उचाइ मापन गर्ने टोलीमा सहभागी हुनुभएका अमेरिकास्थित कोलोराडो युनिभर्सिटीका प्राध्यापक रोजार वियाम, सर्वे अफ इन्डियाका प्रमुखलगायतले नेपालले नै सगरमाथाको उचाइ नाप्नु खुसीको विषय भएको बताउँदै आवश्यक प्राविधिक सहयोग गर्न आफूहरू तयार रहेको वचन दिएका थिए।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो। त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाई मापन गरी फरक–फरक उचाइ निकालेका थिए। तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन।

विभागले गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण विन्दु खोज्ने काम गरेको थियो। सोलुखुम्बुका ८, खोटाङ र दोलखामा २/२ स्थानमा उक्त विन्दु राखिएको बताइन्छ। २ वर्षभित्र काम पूरा गर्ने लक्ष्यसहित विभागले आफ्नो काम अघि बढाएको विभागका महानिर्देशक भट्टले बताउनुभयो।

सगरमाथाको उचाइ नाप्न सरकारले चालू आर्थिक वर्षको बजेटमा २ करोड विनियोजन गरेको छ। यो रकमले नपुग्ने भए पनि अर्थ मन्त्रालयले बजेटको अभाव हुन नदिने मौखिक प्रतिबद्धता जनाएको छ।
सरकारसँग माग गरिएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्राविधिक यन्त्र, मापनमा खटिनेहरूका लागि विशेषज्ञ तालिम र कर्मचारीहरूमा खर्च हुने बताइएको छ।

उचाई मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा छन्। अहिलेसम्म सन् १८५२ देखि सन् २०११ सम्म दश पटक सगरमाथाको मापन गरिएको छ।

विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिकरूपमा मान्दै आएको उचाइ भने यही भारतीय टोलीको रहेको नापी विभागले बताएको छ। नेपाल आफंैले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया शुरू गरेको यो पहिलो पटक हो। नापी विभागका अनुसार सगरमाथाको उचाइ नाप्न विभागका ७० देखि ८० जना जनशक्ति खटिनेछन्।

प्रतिक्रिया दिनुहोस्