निजी समस्याबाट पीडित शृंखलाबद्ध बम आक्रमणकारी



फ्लुजर्भिल्ले, (एजेन्सी)
अमेरिकाको टेक्सास राज्यमा तीन साता बम आतंक फैलाउने २३ वर्षीय युवक मार्क कोन्डिटले आफ्नो मोबाइल फोनमा बम आक्रमण गर्नुको २५ मिनेट लामो भिडियो बयान छोडेको प्रहरीले बिहीबार जनाएको छ।
टेक्सासको अस्टिनमा आफू करिब करिब प्रहरीको घराबन्दीमा परेको महसुस गरी उनले आत्मघाती बम विस्फोट गरेका थिए। अस्टिनको उपनगर फ्लुजर्भिल्ले निवासी ती बेरोजगार कोन्डिटलाई मंगलबार साथमा अवैध आम विनाशकारी वस्तुहरू राखेको अभियोग लगाइएको थियो।

उनले आफ्नो बयानमा कुनै आतंकवाद वा कसैप्रति घृणा उल्लेख गरेको छैन। बरु उनको सो बयानमा एक युवाको नितान्त निजी चुनौती र समस्याहरू उल्लिखित रहेको अस्टिन प्रहरी प्रमुख ब्रियान म्यान्लीले पत्रकारहरूलाई बताएका छन्। हातहतियार विशेषज्ञहरूले अघिल्लो दिन कोन्डिटको घरबाट थप विस्फोटक पदार्थहरू जफत गरेर निस्क्रिय पारेका थिए।

अस्टिनदेखि करिब ३२ किमि उत्तर भागमा रहेको एउटा होटेलनजिक प्रहरीले पछइइरहेको सुइँको पाएपछि उनले कारबाट निस्केर आत्मघाती विस्फोट गरी आफ्नै ज्यान लिएका थिए।

प्रहरीले उनले अन्य पनि विभिन्न स्थानमा बम जडान गरेको हुनुपर्ने आशंका गर्दै अस्टिनका करिब १० लाख स्थानीय जनतालाई सजग रहन आह्वान गरेको छ। २ मार्चदेखि त्यहाँका विभिन्न स्थानमा भएका शृंखलाबद्ध बम विस्फोटनमा दुईजना व्यक्तिको ज्यान जानुका साथै कम्तीमा अन्य ५ जना घाइते भएका थिए।

अमेरिकी संघीय जाँचबुझ ब्युरो (एफबीआई) र रक्सी, सुर्ती, हातहतियार र विस्फोटक पदार्थ ब्युरो (एटीएफ)का विशेषज्ञहरूले विभिन्न स्थानमा विस्फोट गराइएका जस्तै बम उनको घरबाट बरामद गरेका थिए।

प्रतिक्रिया दिनुहोस्