ट्रम्प सरकारले चीनमाथि नाकाबन्दी लगाउने



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको ट्रम्प सरकारले बिहीबार चीनमाथि नाकाबन्दी लगाउने योजना रहेको घोषणा गरेको छ। चीनले अमेरिकी व्यापारको बौद्धिक सम्पत्ति सुम्पिने र चोरीमा प्रोत्साहन गरिरहेको कारण अमेरिकाले यो कदम चाल्न लागेको बताइएको छ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसले वर्षौंदेखि यस विषयमा आपसी वार्ता भइरहे तापनि व्यवहारमा कुनै परिवर्तन नआएकाले नाकाबन्दी लगाइन लागेको हो।

यस कारबाहीमा भन्सार शुल्कलगायत अन्य विषयहरू रहेको बताइएको छ। चीनले आफू यसबारे आवश्यक कदम चालेर प्रतिवाद गर्न तयार रहेको बताएको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार ह्वाइट हाउसले ३० देखि ६० अर्ब अमेरिकी डलर बराबरको भन्सारलगायत लगानीमा बन्देज लगाउने जस्ता कदमबारे सोचिरहेको जनाएको छ।

अमेरिकी वाणिज्य व्यापा अधिकारीहरूले अमेरिकाले विश्व व्यापार संगठन (डब्ल्यूटीओ)समक्ष पनि यसबारे गुनासो गर्ने भएको छ। अमेरिकाको प्रमुख व्यापार वार्ताकार रोवर्ट लाइथाइजरले बुधबार कंग्रेसका सदस्यहरूलाई अमेरिकाले चीनमाथि अत्यधिक र अमेरिकी उपभोक्ताहरूमाथि न्यूनतम दबाब दिनेबारे सोचिरहेको बताएका थिए।

उनले अमेरिकी अर्थतन्त्रमा बौद्धिक सम्पत्ति जोगाउनु अत्यावश्यक रहेको बताएका छन्। एकजना अमेरिकी व्यापार अधिकारीले पत्रकार सम्मेलनमा चीनले कम्पनीहरूलाई स्थानीय साझेदारीहरू सृजना गर्दै प्राविधिक प्रसारणका लागि दबाब दिएर चिनियाँ बजारमा प्रवेश गराउने गरेको प्रमाणहरू रहेको बताएका छन्। साथै अमेरिकाले चीनले साइबर आक्रमणहरूमा सहयोग लिनका लागि अमेरिकाका उद्योगहरूमा लगानी गर्ने गरेको प्रमाण पनि फेला पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्