वार्ताका लागि तयार हुनु प्रतिबन्ध नभएर आत्मविश्वास होः उत्तर कोरिया



सोल, (एजेन्सी)
उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले उत्तर कोरिया प्रतिबन्धको दबाबले नभएर आफ्नो आत्मविश्वासका कारण दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्न तयार भएको प्रस्ट पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसँग भेटवार्ता गर्ने प्रस्ताव स्वीकार गरेपछि कोरियाली सेन्ट्रल न्युज एजेन्सी (केसीएनए)ले उक्त कुरा अगाडि सारेको हो। समाचारमा उत्तरकोरियाको मनसायमाथि प्रश्न उठाउँदै वार्ताको आलोचना गर्नेहरुलाई सानो सोचको संज्ञा दिएको छ।

राष्ट्रपति ट्रम्प र किम जोङ उनको भेटवार्ता कहिले र कसरी हुन्छ, यस विषयमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन। यदि यो वार्ता सम्पन्न भएमा अमेरिका र उत्तर कोरियाका सत्ता प्रमुखबीचको यो पहिलो भेटवार्ता हुनेछ।

यसैबर्ष फेब्रुअरीमा अमेरिकाले उत्तर कोरियामाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको थियो। ट्रम्पले यसलाई उत्तर कोरियाविरुद्ध ‘अधिकतम दबाब अभियान’ भनेका थिए।
केसीएनएले यस सम्भावित शिखर वार्ताका विषयमा केही उल्लेख गरेको छैन। तर यस शान्ति प्रस्तावबाट उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा ‘परिवर्तनको संकेत’ देखिएको एजेन्सीले जनाएको छ।

सम्भावित शिखरवार्ताको समाचार अएपछि केसीएनएले यो पहिलो पटक अमेरिकाप्रति उत्तर कोरियाको परिवर्तित नीतिको उल्लेख गरेको हो। मंगलबार प्रकाशित सम्पादकीयमा भनिएको छ– उत्तर कोरियाको शान्ति प्रस्तावले उसको आत्मविश्वासलाई दर्शाउँछ, जसको अर्थ उसले जे चाहेको थियो, त्यही पाएको छ।

‘उत्तर कोरियाको यो कदम दबाबको नतिजा हो भन्नु बकवास हो। यस्तो भन्नु आफ्नै सानो सोच देखाउनु हो, ताकि यसले वातावरण खराब बनोस्।’ –सम्पादकीयमा उल्लेख छ।

यसै महिनाको शुरुआतमै ट्रम्प–किम भेटवार्ताको सम्भावनाका विषयमा चर्चा भएको थियो। किम जोङ उनले दक्षिण कोरियामार्फत अमेरिकासमक्ष ट्रम्पसँग भेट्न चाहेको र परमाणु कार्यक्रम छोड्नका लागि प्रतिबद्ध रहेको सन्देश पुर्याएको थियो। ट्रम्पले उक्त प्रस्तावलाई स्वीकार गरे, तर त्यसपछि भने उक्त शिखरवार्तालाई लिएर उत्तर कोरियाले कुनै आधिकारिक बयान दिएको छैन। एक वर्षको उग्र कूटनीतिक तथा धम्कीपछिको यो अप्रत्याशित विकसित घटनाक्रमलाई महत्त्वपूर्ण कदम मानिएको छ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले पनि अप्रिलमा उत्तर कोरियाका नेता किम जोङ उनसँग भेट्न लागेको बताइएको छ। उनले तीनैवटा देशको शिखर वार्ता पनि सम्भव भएको संकेत दिएका छन्। दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध शीतकालीन ओलम्पिकका क्रममा नरम देखिएको थियो। उक्त खेल महोत्सवमा दुवै देशका खेलाडी संयुक्त झण्डाको मुनि देखिएको थिए।

दक्षिण कोरिया र अमेरिकाले आफ्नो वार्षिक संयुक्त सैन्य अभ्यासलाई पनि सारेको छ। जसको कारण उत्तर र दक्षिण कोरयाबीच वार्ता सम्भव हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्