नजिकिएको एन्फा निर्वाचन स्थगित



काठमाडौं, (नेस)
आगामी साता हुनै लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ। ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासमा चैत १४ गते हुने एन्फाको निर्वाचन स्थगित गर्नुपर्ने अन्तरिम आदेश जारी गरेको हो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाएर अदालतमा उजुरी दिएपछि निर्वाचनमा असर पर्न गएको हो। अदालतले १५ दिनभित्र उपस्थित हुन दुवै पक्षलाई आदेशसमेत जारी गरेको छ। यसले निर्वाचनको मिति सर्ने भएको छ।

भक्तपुर जिल्ला फुटबल संघको निर्वाचन स्थगित हुनमा सबै क्लबलाई सहभागी नगरी निर्वाचन गर्दा असन्तुष्ट पक्षले अदालतमा मुद्दा हालेको थियो। यो मुद्दा अहिलेसम्म पनि छिनोफानो हुन सकेको छैन। मुद्दाको सुनुवाइ मिति लम्बिँदै जाँदा यता एन्फाको निर्वाचन पनि नजिकिँदै गएको छ। यसले भक्तपुर जिल्ला फुटबल संघबाट एन्फा निर्वाचनमा मतदान गर्न नपाउने देखिएपछि एन्फालाई विपक्षी बनाएर मुद्दा हालेको हो। यस विषयमा एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले एन्फाको निर्वाचन स्थगित भएको बताए। अध्यक्ष श्रेष्ठले नेपाल समाचारपत्रलाई बताए– ‘एन्फाको निर्वाचन स्थगित भएको भर्खरै थाहा पाएँ। पूर्ण पाठ नहेरीकन केही भन्न सकिँदैन। भोलि (शुक्रबार) कानुनी सल्लाहकारसँग परामर्श गरेर मात्रै यसबारे बोल्न सकिएला। भक्तपुरको हकमा भन्नुपर्दा उनीहरुको मुद्दाको सुनुवाइ भएको छैन।’

यस्तै मकवानपुर जिल्ला फुटबल संघको चुनाव भइसकेकोमा एन्फाले मान्यता नदिँदा त्यहाँ विवाद भएको थियो। चुनावको परिणाम आएको भोलिपल्ट एन्फाका केन्द्रीय महासचिव धीरेन्द्र प्रधानले प्रेस विज्ञप्ति जारी गरी मकवानपुरको नेतृत्वलाई मान्यता नभएको जनाएका थिए। निकै विवाद र तनावबीच हेटौंडामा भएको मकवानपुर फुटबल संघको अधिवेशनले अध्यक्षमा एफसी पोतालाका टीका लामालाई निर्विरोध निर्वाचित गरेको थियो।

एन्फा अध्यक्षको पदमा संस्थागत पक्षबाट यसपटक वर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले उम्मेदवार दिएका छैनन्। उनीद्वारा समर्थित एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवर अध्यक्षका लागि चुनावी मैदानमा छन्। त्यस्तै एन्फाको असन्तुष्ट पक्षबाट एन्फाका पूर्वउपाध्यक्ष कर्मा छिरिङ शेर्पाले यसपटक पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी गतवर्षको चुनावमा श्रेष्ठसँग ५ मतले हारेका थिए।

प्रतिक्रिया दिनुहोस्