सन्दीपलाई १ नम्बर अंकित जर्सी



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका चर्चित युवा स्पिनर सन्दीप लामिछानेले आगामी अप्रिल ७ देखि शुरू हुने इन्डिय प्रिमियर लिग (आईपीएल)मा १ नम्बर अंकित जर्सी लगाउने भएका छन्। बिहीबार काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा सन्दीपलाई टोलीकै सीईओ हेमन्त दुआ र राखेपका सदस्यसचिव केशवकुमार विष्टले जर्सी प्रदान गरेका हुन्। दुआले जर्सी दिँदा नै नम्बरझै विश्वका नम्बर एक लेग स्पिनर बन्न पनि सन्दीपलाई शुभकामना दिएका थिए। तर यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले जर्सी हस्तान्तरण गर्ने कार्यक्रम थियो।

सन्दीपलाई ११औं संस्करणको आईपीएलको अक्सनमा २० लाख भारुमा दिल्ली डेयरडेभिल्सले किनेको थियो। योसँगै उनी आईपीएलमा आबद्ध हुने पहिलो नेपाली क्रिकेट बनेका हुन्। उनले प्रशिक्षक रिकी पोन्टिङले ट्रायल हेरेर सन्दीपलाई मनपराएकोले टोलीले अक्सनमा सन्दीपलाई किनेको रहस्य खोलेका थिए।

दिल्ली डेयरडेभिल्समा धेरै चर्चित खेलाडी भएकाले शुरुआती ११ मा सन्दीप पर्छ वा पर्दैन भन्नेमा दुआले आफूले खेलाडी छनोट गर्न नसक्ने बताए। उनले खेल्ने खेलाडीको नाम प्रशिक्षक र कप्तानले तयार गर्ने पनि बताए। सन्दीपले भने आफूले खेल्नेभन्दा पनि टोलीको जित नै पहिलो प्राथमिकता भनेर बताएका थिए।

प्रतिक्रिया दिनुहोस्