कामना अवार्ड भोलि दिनभर ४ टेलिभिजन च्यानलमा



गत माघ १६ गते राजधानीमा सम्पन्न लक्स कामना फिल्म अवार्डस् २०७४ भोलि शनिबार राष्ट्रिय टेलिभिजन च्यानलहरूमा हेर्न पाइने भएको छ। कामना सिने मासिकको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्स्द्वारा सिजी इन्टरटेनमेन्टको सहकार्यमा आयोजित तेस्रो संस्करणको अवार्ड समारोह भोलि शनिबार दिनभर राष्ट्रिय टेलिभिजन च्यानलहरूमा हेर्न पाइने भएको हो।

लक्स कामना फिल्म अवार्डस् २०७४ बिहान ११ बजे हिमालय टेलिभिजन, अपराह्न १ बजे नेपाल टेलिभिजन, अपराह्न साँढे २ बजे न्युज २४ र राति ८ बजे टिभी फिल्मीमा प्रसारण हुनेछ। अवार्ड समारोह टिभी फिल्मीमा आइतबार बिहान ११ बजे पुनः प्रसारण हुनेछ।

आर्मी अफिसर्स क्लबको सभामण्डपमा भरिभराउ कलाकर्मीका बीच सम्पन्न यस वर्षको लक्स कामना फिल्म अवार्डस् २०७४ सरप्राइज नै सरप्राइजको प्याकेज बनेको थियो। स्वरसम्राट नारायण गोपालप्रति श्रद्धासुमन अर्पण गर्दै शुरु गरिएको समारोहमा गायक रामकृष्ण ढकालले २०४५ सालमा आयोजित नारायण गोपालको स्वर्णिम सन्ध्याको झल्को दिँदै सोही कार्यक्रमको मञ्च सज्जाका साथ नारायण गोपालकै भेषमा प्रस्तुत भई उनका गीतहरू प्रस्तुत गरेका थिए। उनलाई गायिका जुना प्रसाईंले साथ दिएकी थिइन्।

समारोहमा जितु नेपाल नाटकीयरूपमा दर्शकदीर्घाबाट मञ्चमा प्रवेश गर्दै हस्यौली र कार्यक्रम प्रस्तोताका रूपमा प्रस्तुत भएका थिए भने केदार घिमिरे र सीता घिमिरेको जोडीले प्रहसन प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए। कार्यक्रम सञ्चालकद्वय नरेश भट्टराई र मिस नेपाल २००५ सुगरिका केसीले पनि नाटकीय र रोचकरूपमा कार्यक्रम सञ्चालन गरेका थिए। त्यसमा अभिनेता सुनील थापासमेत थपिएका थिए।

नायिका केकी अधिकारीले विनोद न्यौपाने र राजाराम पौडेलका साथ समूह बनाएर आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने दिपाशा बीसीले रमेश थापाका साथ आइटम डान्स गरेर माहौल तताएकी थिइन्। त्यसै गरी पल शाह, आँचल शर्मा, प्रियंका कार्की, सुमन गिरी र दीपाश्री निरौलाले अर्को समूहमा बाँधिएर दर्शक तताएका थिए। यो प्रस्तुतिको अन्त्यमा नायिका प्रियंका कार्कीले पुरुष भेषमा प्रस्तुत भएर सरप्राइज दिएकी थिइन् भने दर्शकदीर्घामा पुगेर नृत्य गरी समारोहलाई थप रोचक बनाएकी थिइन्। सबै नृत्यको कोरियोग्राफी कविराज गहतराजले गरेका थिए। प्रियंका कार्की, दीपाश्री निरौला, राजाराम पौडेल, केकी अधिकारी, पल शाह, आँचल शर्मा जस्ता कलाकार विभिन्न नृत्यका साथ प्रस्तुत हुँदा समारोहमा रोमाञ्कता छरिन पुगेको थियो।

कार्यक्रको अर्को आकर्षण बनेको थियो मेडली। जसमा कृष्ण काफ्ले, दीपाश्री निरौला, ताराप्रकाश लिम्बु, मीना निरौला, युवराज चौलागाईं, एम बराल, आनन्द कार्की, शम्भुजित बासकोटा, तारा थापा, प्रेमध्वज प्रधान र मदनकृष्ण श्रेष्ठले पालैपालो आ–आफ्ना गीत गाएर सरप्राइज दिएका थिए भने अन्त्यमा सबै कलाकारले एउटै गीत गाएर मेडलको बिट मार्दै एक–अर्काप्रति प्रेम र स्नेह भाव देखाएका थिए। यो प्रस्तुतिले नयाँ र पुरानो पुस्तालाई जोड्ने काम गरेको थियो। नयाँ पुस्ताका गायकगायिकासँगै पालैपालो मदनकृष्ण श्रेष्ठ, प्रेमध्वज प्रधान, तारा थापा, शम्भुजित बासकोटा, आनन्द कार्की, एम बराल जस्ता गायकगायिकाहरू गायन प्रस्तुतिका साथ प्रस्तुत हुँदा समारोहमा आश्चार्य र रोमाञ्चकता छरिएको थियो।

प्रतिक्रिया दिनुहोस्