शत्रु गतेको पूरा शो नै बिक्री हुँदै



ख्यातिप्राप्त हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म तथा टेलिफिल्म निर्माण कम्पनी मह सञ्चारले १७ वर्षपछि बनाएको फिल्म शत्रु गतेको करिब डेढ दर्जन शो बिक्री भएको छ। यसअघि गाईजात्रे स्टेज शोहरू मात्र बिक्री हुँदै आएकोमा यसपटक शत्रु गतेले फिल्मको शो पनि बिक्री हुन सक्छ भन्ने प्रमाणित गरिदिएको छ। फिल्मका प्रस्तुतकर्ता किरण केसीका अनुसार विभिन्न समूह र कम्पनीले आफ्नो सहकर्मी तथा कर्मचारीलाई शत्रु गते देखाउनका लागि यसको विभिन्न शो खरिद गरेका छन्। चर्चाको शिखरमा रहेको फिल्म शत्रु गते आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउँदै छ। यो फिल्म काठमाडौंबाहिर ८५ र उपत्यकाका २६ हलमा गरी एकसाथ १ सय ११ हलबाट रिलिजमा आउँदै छ। यी हलहरूमा आक्रमकरूपमा टिकट बुकिङ भइरहेको जनाइएको छ।

फिल्म मह जोडीका साथ छक्का पञ्जाका कलाकारहरूले निर्माण गरेका हुन् भने कलाकार पनि उनीहरू नै छन्। दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरि पौडेल, यशोदा श्रेष्ठ र रमिला आचार्यको निर्माण, हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद, दीर्घराज गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन, अर्जुन भट्टराई र लोकराज अधिकारीको गीत, कालिप्रसाद बासकोटा र टंक बुढाथोकीको संगीत, कविराज गहतराज र प्रवीण सिंहको नृत्य, र रोशन श्रेष्ठको संगीत रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, वसुन्धरा भुसाल, नरेन्द्र कंसाकार, राजु भुजु, राजाराम पौडेल, शिवहरि पौडेल, किरण केसी, मोहित आचार्य, सुष्मा कार्की, अञ्जु महर्जन, रमेशरञ्जन झा, अनुराग कुँवरलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्म जात्राका निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्