प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको पहिलो विदेश भारत हुने भएको छ। भ्रमणको तयारी अघि बढाइएको छ। ओलीले यही महिनाभित्र छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्ने गरी तयारी बढाइएको हो।

प्रधानमन्त्रीको भ्रमण यही महिनाभित्र गर्ने गरी भारतले तयारी बढाउँदै नेपाललाई खबर गरेको बताइएको छ। तर भ्रमणको मिति भने तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसबारेमा औपचारिक जानकारी प्राप्त नगरेको मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता भरतराज पौडेलले बताउनुभयो।

‘अहिलेसम्म कतैबाट पनि त्यस्तो जानकारी आएको छैन।’ –बिहीबार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो। सरकार परिवर्तन भएपछि प्रधानमन्त्रीले छिमेकी मुलुकहरूको भ्रमण गर्ने बिगतकै परम्परा दोहोर्याउँदै प्रधानमन्त्री ओली दोस्रो कार्यकालको पहिलो भ्रमणका लागि भारत जान इच्छुक हुनुभएको बताइएको छ।

गत माघ तेस्रो साता नेपाल भ्रमणमा आउनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ओलीसँगको ‘वान टु वान’ वार्ता गर्दै भारत भ्रमणको निम्तो दिनुभएको थियो।

एमाले–माओवादी नेतृत्वको गठबन्धनले निर्वाचनमा उत्साहपूर्ण सफलता प्राप्त गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना भावी समकक्षी ओलीसँग दुई पटक टेलिफोन संवाद गर्दै अग्रिम बधाई र भारत भ्रमणको निम्तो दिनुभएको थियो।

स्थिर सरकारसँग सहकार्य गर्ने तत्परता देखाउँदै ओलीलाई सरकार गठन हुनुअघि नै बधाई र भ्रमणको निम्तो दिएको भारत यति छिट्टै प्रधानमन्त्रीको भ्रमणमा जुट्नु अनौठो नभएको परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ।

‘नेपालमा चीन र पाकिस्तानको समेत चासो बढिरहेको अवस्थामा भारत पछि पर्न चाहँदैन, त्यसैले अहिले उसले भ्रमणको तयारी बढाइरहेको छ।’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्