देशले पायो प्रदेशको पहिलो मुख्य न्यायाधिवक्ता



नेपाल समाचारपत्र, हेटौंडा ।
प्रदेश–३ का मुख्य न्यायाधिवक्ता बरिष्ठ अधिवक्ता सूर्यचन्द्र उपाध्याय (न्यौपाने) ले पद तथा गोपनियताको सपथ खानु भएको छ । उहाँलाई प्रदेश प्रमुखको कार्यालयमा बिहीबार सपथग्रहण गराइएको हो । न्यौपाने संघीय संरचनामा देशको पहिलो मुख्य न्यायाधिवक्ता बन्नुभएको छ ।

प्रदेश राजधानी हेटौंडामा रहेको उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाले न्यौपानेलाई सपथग्रहण गराउनुभएको हो । न्यौपानेले देश र जनताका नाममा सपथ लिनुभएको छ ।

सपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य, मुख्य सचिव रेश्मीराज पाण्डे, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल र उपप्रमुख भगवती पुडासैनीलगायतको सहभागिता थियो ।

मुख्यमन्त्री पौडेलको सिफारिसमा प्रदेश प्रमुख कोइरालाले न्यौपानेलाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । लामो समयदेखि न्याय क्षेत्रमा सक्रिय न्यौपाने नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापतिसमेत हुनुहुन्छ । संविधानको धारा १६० को उपधारा २ अनुसार हेटौंडाका ६८ वर्षीय न्यौपानेलाई फागुन २३ गते मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्