शशिकान्त शकुन्तला बर्मा टि–२० क्रिकेटको उपाधि खुकुरीलाई



रुपन्देही । क्रिकेट संघको आयेजनामा भैरहवामा सम्पन्न जिल्लास्तरीय शशिकान्त–शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवाले हात पारेको छ ।

बिहीबार भएको फाइनल खेलमा शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ९ विकेटले हराउँदै खुकुरीले उपाधि जितेको हो । यससँगै उसले लागातार दुईवटा उपाधि हात पार्न सफल भएको छ ।

खुकुरीले यसअघि सम्पन्न नेपाल टेलिकम रुपन्देही सुपर लिगको उपाधि पनि जितेको थियो । जितसँगै खुकुरीले नगद ५० हजार र ट्रफी हात पा¥यो भने उपविजेता शंकरनगरले नगद २५ हजार रुपैयाँ र ट्रफी हात पार्यो ।

स्थानीय सिद्धार्थ रंगशालामा भएको फाइनलमा जितका लागि शंकरनगरबाट पाएको ८३ रनको लक्ष्य खुकुरीले १३.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि शंकर रानाले नटआउट ५७ तथा मिर्नाल गुरुङले नटआउट १९ रनको योगदान दिए । बलिङमा शंकरनगरका तुलबहादुर थापाले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले १६.२ ओभरमा सबै विकेट गुमाई जम्मा ८२ रनको योगफल बनाएको थियो । उसका लागि भीम सार्कीले ४९ तथा संदीप सुनारले २१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा खुकुरीका इकलाख अहम्मद र रमेश कुर्मीले समान ३, ३ विकेट लिए । इकलाख अमम्मद म्यान अफ द फाइनल समेत भए ।

प्रतियोगितामा खुकुरीका साहव आलम म्यान अफ द सिरिज र बेष्ट बलर घोषित भई नगद १५ हजार रुपैयाँ र ट्रफी हात पारे । शंकरनगरका संदीप सुनार बेष्ट ब्याट्स म्यान घोषित भए । उनले नगद ५ हजार रुपैयाँ र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्मा, नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य प्रेमकुमार सेन्चुरी, संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, खेलकुद विकास समिति सदस्य उमा अधिकारी, सगरमाथा इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवाली लगायतले पुरस्कार प्रदान गरेका थिए । अमेरिका निवासी विवेक बर्मा मुख्य प्रायोजक रहेको प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट कथ्था मिलले सहप्रायोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्