नारायणगढ–मुग्लिन सडक निर्माण म्याद तीन महिना थपियो



चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण म्याद तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले एक हजार दिन म्याद थप्न माग गरेको पछि तीन महिना मात्रै थपिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको छ ।

सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । २०७४ साल शुरु भएयताको दुईपटकको निर्वाचनको समयमा काम गर्न नपाएको, बर्सात्को समय, चाडपर्वको समय र थपिएको काम समेतलाई मिलाएर मिति थप गरिएको खनालले बताउनुभयो ।

यसअघि तेस्रो पटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो । स्वीकृतिका लागि विभागमा पठाइएको भए पनि विभागले बुधबार मात्रै मिति थपको स्वीकृति प्रदान गरेको हो ।

परामर्शदाता कम्पनीले गरेको सिफारिसअनुसार मिति थप भएको खनालले बताउनुभयो । अहिलेसम्म निर्माण ८२ प्रतिशत काम सकिएको छ । आयोजनाका इन्जिनियर खनालका अनुसार ३३ं२ किलोमिटरमध्ये २४ं५ किलोमिटर सडक कालोपत्र भएको छ ।

राजधानी काठमाडौं र पोखरा जस्ता ठूला शहरलाई तराईसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको उक्त खण्डको निर्माण ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्