आरक्षणलाई अवसरमा प्रयोग गर्न सुझाव



हिक्मत नेपाली, दैलेख ।

प्रतिनिधिसभाका सांसद पार्वती बिशुन्केले दलितलाई दिइएको आरक्षण र प्रतिनिधित्व स्तरबृद्धिका लागि अवसरको रुपमा प्रयोग गर्न सुझाव दिनुभएको छ । ५३ औं अन्तरराष्ट्रिय जातिभेद तथा रंगभेद विरुद्धको दिवसको अवसरमा दैलेख सदरमुकाममा आयोजित जातीय विभेद अन्त्यका लागि सामाजिक सहकार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बिशुन्केले यस्तो सुझाव दिनुभएको हो ।

सांसद बिशुन्केले समावेशी राज्यको नीति कार्यान्वयनमा स्थानीय तहका सरकारमा पहल र दवाव दुबैको आवश्यकता रहेको बताउदै राज्यको नीति भए पनि नेतृत्वको व्यवहार नबदलिएको कारण खवरदारी निरन्तरता जरुरी रहेको औल्याइन् । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य चन्द्रा नेपालीले दलित जनप्रतिनिधिहरुलाई कानूनी बाध्यताले समावेश गरिए पनि निर्णय प्रक्रियामा सुनुवाई नहुने र कतिपय अवस्थामा विभेदको शिकार हुनुपरेको बताइन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले दलितहरु माथि हुने विभेद वर्गीय आधारमा हुने गरेको बिश्लेषण गर्दै दलित समुदायको आर्थिक स्तर उठाउने कार्यक्रम आवश्यक रहेको बताए । उनले स्थानीय तहमा बजेट र अधिकार समेत भएकोले समुदायले योजना प्रक्रियाबाटै त्यस्ता कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।

नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तेजबहादुर चन्दले स्थानीय तहमा निर्वाचित सदस्यहरुलाई पनि भत्ताको व्यवस्था गरिनुपर्ने बताउदै स्थानीय तहमा निर्वाचित महिला सदस्यहरुले दलित, महिला, बालबालिकाहरुको सवालमा काम गर्न आग्रह गरे । कार्यक्रममा नेपाली काँग्रेसका दैलेख जिल्ला सचिव भूपेन्द्र शाहीलले बर्तमान सरकारले दुई तिहाई बहुमतको बलमा नीति कार्यान्वयन नगर्दा दलित समुदायले पाउनै पर्ने सुविधा र सेवा पाउन नसकेको बताए ।

शिल्पी समाज दैलेखको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका लक्ष्मी रेग्मी, नेमकिपाका सचिव लक्ष्मी बिक, नारायण क्याम्पसका स्वतन्त्र विद्यार्थीका सभापति रेखा थापा लगायतका वक्ताहरुले जिल्लामा जातीय विभेदको अवस्था र समस्या समाधानका उपाय विषयमा धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रम अघि जातीय विभेद विरुद्ध सचेतना निम्ति नारा जुलुस सहितको टोलीले नगर परिक्रमा गरी सभामा परिणत भएको थियो ।

सन् १९६५ मा अफ्रिकामा भएको रंगभेद विरुद्ध आन्दोलनको क्रममा प्रहरीले चलाएको गोलीबाट ६९ जनाको हत्या भएको घटनासंग यो दिवस सम्वन्धित छ । उक्त दुखान्त घटनाको स्मरणमा संयुक्त राष्ट्र संघले सन् १९६६ मार्च २१ तारिकका दिनलाई जातिभेद तथा रंगभेद विरुद्धको दिवस तोकिएपछि जातीय विभेद र रंगभेद समस्या रहेका देशहरुमा यो दिनलाई उत्सवको रुपमा मनाउदै आएका छन् । नेपालमा १६ वर्षदेखि दलित नागरिक समाजले मनाउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्