काबुलमा आत्मघाती आक्रमण २९ को मृत्यु



काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलस्थित एउटा मस्जिदनजिक बुधबार एक आशंकित आत्मघाती बम विस्फोटन हुँदा कम्तीमा २९ जनाको ज्यान जानुका साथै अन्य ५२ घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार नयाँ वर्षको नाउरुज पर्व मनाउन जम्मा भएका सयौं व्यक्तिमाझ आत्मघाती विस्फोट गराएका थिए। सो भिडमा अधिकांश अल्पमत सिया मुस्लिम समुदायका मानिस रहेको र मृतकको संख्या बढ्न सक्ने स्थानीय सञ्चार माध्यमले जनाएको छ।

यस आक्रमणका लागि इस्लामिक स्टेट (आईएस) समूहले औपचारिक जिम्मेवारी लिएको छ। केही वर्षयता सिया समुदायमाथि लक्षित आक्रमणको घटना बढ्दै गइरहेको छ। तीमध्ये अधिकांश आक्रमणमा आईएसकै हात रहेको पाइएको छ। गृहमन्त्रालयका प्रवक्ताले हिँडेरै साखी मस्जिदमा पुगेका ती व्यक्तिले प्रहरीले आतंककारी भनी चिनेको जस्तो लाग्ना साथ विस्फोट गराएको बीबीसीलाई जानकारी दिएका छन्।

उनले काबुलको पश्चिम भागमा रहेको काबुल विश्वविद्यालयनजिकको अली अवाद अस्पतालबाहिर यो विस्फोट भएको पुष्टि गरेका छन्। प्रत्यक्षदर्शीहरूले मारिनेहरूमा अधिकांश नाँच्दै गाउँदै नयाँ वर्ष मनाइरहेका युवाहरू रहेको पनि बीबीसीलाई बताएका छन्।

विगतमा पनि यसै मस्जिदलाई लक्षित गर्दै बम आक्रमण भइसकेको छ। सन् २०१६ को अक्टोबरमा सियाहरूले आसुरा पर्व मनाइरहेको बेला भएको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको थियो।

तालिवान लडाकू र आईएस दुवैले अफगानिस्तानमा सरकारी पक्षविरुद्धको आक्रमणलाई तीव्रता दिन थालेको छ। केही समयअघि चिकेन स्ट्रिट सपिङ क्षेत्रमा टन्न विस्फोटक पदार्थ भरिएको एम्बुलेन्स विस्फोट गराइँदा सयभन्दा बढी मानिसको ज्यान गएको थियो। अमेरिकी र अफगान अधिकारीहरूले आफूहरूको हवाई आक्रमणबाट अत्तालिएका लडाकूहरूले प्रतिशोधका रूपमा यसरी आत्मघाती आक्रमण गर्ने गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्