अब्बासद्वारा अमेरिकी राजदूतलाई कुकुरको संज्ञा



रमल्लाह, पश्चिम किनारा, (एजेन्सी)
प्यालेस्टिनी राष्ट्रपति महमुदु अब्बासले अधीनस्थ पश्चिम किनारामा इजरायली आवास क्षेत्रलाई लिएर समर्थन गरेकोमा इजरायलका लागि अमेरिकी राजदूतलाई ‘कुकुरको छोरा’ भनी सम्बोधन गरेका छन्।

प्यालेस्टिनी नेतृत्वको भेलालाई सम्बोधन गर्ने क्रममा अब्बासले गाजामा प्यालेस्टिनी प्रधानमन्त्री रामी हम्दल्लाहको सवारीमाथि भएको बम आक्रमणमा हमास जिम्मेवार भएको आरोप लगाए। यस घटनाले उक्त इस्लामिक समूहसँग मेलमिलापको प्रयासलाई खतरामा पार्ने उनले बताए।

प्यालेस्टिनी नेताले राजदूत डेविड फ्राइडम्यानमाथि पश्चिम किनाराका इजरायली आवासलाई उनीहरूले ‘आफ्नो भूमि’मा निर्माण गरेको बताएको आरोप लगाए। उक्त गालीजन्य शब्दको प्रयोगलाई लिएर ती कूटनीतिज्ञ र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कडा आपत्ति जनाएका छन्।

आवेगमा आएका अब्बासले भने– ‘त्यो कुकुरको छोराले उनीहरूले तिनीहरूकै भूमिमा निर्माण गरेको भनेका छन्। ऊ तेल अभिवमा अमेरिकी राजदूत हो। ऊबाट के आशा गर्न सकिन्छ?’

इजरायलको आवास अभियानको सशक्त समर्थक फ्राइडम्यान जेरुसलमलाई इजरायल राजधानीको मान्यता दिने तथा अमेरिकी दूतावासलाई त्यहाँ सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत डिसेम्बर ६ गरेको निर्णयका कट्टर पक्षधर हुन्।

मध्यपूर्वका लागि अमेरिकी दूत जेसन ग्रिनब्लाटले अब्बासको टिप्पणी ‘अत्यन्तै आपत्तिजनक’ भएको प्रतिक्रिया दिएका छन्।
हमास र फतहबीचको मतभेदलाई लिएर अब्बासले मेलमिलापमा शून्य प्रगति रहेको बताए। गाजा स्ट्रिपमा शक्ति बाँडफाँडका लागि सहमति बन्नुपर्ने र उक्त भूभागमा सुरक्षा सुनिश्चित हुनुपर्ने प्रसंगलाई जोडरे उनले मेलमिलाप प्रगतिको प्रसंग कोटइएका थिए। गत मार्च १३ मा हम्दल्लाह र प्यालेस्टिनी सुरक्षा प्रमुख मजिद फराजको सवारीलाई निसाना बनाई हमास नियन्त्रित गाजा स्ट्रिपको एक सडकमा बम आक्रमण भएको थियो। तर उनीहरू दुवै सुरक्षित रहन सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्