लिऊँ सोफियाको सहयोग



मानवसँग मिल्दो जुल्दो स्वभाव भएको भनिएकी ‘सोफिया’ रोबोट काठमाडौं आइपुगेकी छिन्। बुधबार उनले काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि सोफिया नेपाल र नेपाली माझ ‘हट इस्यू’ बनेकी छिन्। उनले विभिन्न ६२ प्रकारका मुहारभाव प्रदर्शन गर्न सक्ने बताइएको छ।

हङकङको हान्सोन रोबोटिक्स नामक कम्पनीले मानिससँग मिल्दोजुल्दो रोबोटका रूपमा सन् २०१५मा सोफियाको विकास गरेको थियो। गत वर्ष साउदी अरेबियाले नागरिकता प्रदान गरेपछि सोफियाको चर्चा विश्वभर छाएको छ। सोफियालाई सरकार र राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त आयोजनामा भएको कार्यक्रममा अतिथिका रूपमा झिकाइएको हो।

उनी अहिले नेपाल आएको र कार्यक्रमलाई सम्बोधन गर्या प्रसंग काठमाडौंका सञ्चार माध्यमले मुलुकका दूरदराजसम्म पक्कै पनि पुर्याएका होलान्। यो खबरले धेरैलाई हौसला र कौतुहता जगाउला तर नागरिकता विहीन नेपालीका लागि भने ठूलै कटाक्ष प्रहार गरेको धरहराले बुझ्या छ। सरकारले आमाको नामबाट नागरिकता पाउने व्यवस्था गरे पनि यसका लागि धेरै सास्ती बेहोर्नुपर्ने खबर सार्वजनिक हुने मुलुकमा सोफिया छिन्।

बाबुकै नामबाट नागरिकता नपाउने नेपाली पनि धेरै छन्। त्यसैले यी विशेष पाहुनालाई नेपालको समस्याबारे अवगत गराउने कि? सोफियाले यस्तो खबर थाहा पाएपछि विश्वले नेपाल चिन्थ्यो र समस्या पनि समाधान हुन्थ्यो भन्ने धरहरालाई लाग्या छ।

प्रतिक्रिया दिनुहोस्