बलात्कारीलाई कारबाही पीडितलाई संरक्षणको खाँचो



पछिल्लो समय जघन्य अपराधका रूपमा लिइने बलात्कारका घटना वृद्धि हुँदै गएको देखिएको छ। नाबालिका बतात्कृत हुने घटना अझ बढ्दै गएको छ। एक साताको अवधिभित्र मात्र दर्जनौं बलाात्कारका घटना सार्वजनिक भैसकेको छ। सोमबार ललितपुरमा ६ वर्षीया बालिका बलात्कृत भइन् भने मंगलबार अर्की ७ वर्षीया बालिका बलात्कृत भइन्। अन्य जिल्लाहरूबाट पनि नियमित बलात्कारका घटना घटेको समाचार आइरहेको छ। बलात्कारको घटना यतिसम्म बढेको छ कि पत्याउनै नसकिने आफ्नै अभिभावकबाट समेत बलात्कृत भएको भनी उजुरी परेका घटनाहरू पनि प्रशस्त देखिन्छन्। ५ वर्षीया नाबालिकादेखि ७० वर्षीया वृद्धासम्म बलाात्कारको सिकार भएका छन्।

कुनै न कुनै बहानामा मिलापत्रमै टुंगिने गरे पनि पछिल्लो समय बलात्कारीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिलाउने प्रयास भैरहेको पनि पाइएको छ। अझै पनि सञ्चारमाध्यममा सार्वजनिक नभएका कतिपय घटना मिलापत्रमै टुंगिने गरेको पाइन्छ। साथै बलात्कारका घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न हरेक क्षेत्रबाट दबाब पनि आइरहेको छ। कतिपय घटनाहरूमा प्रहरीका उच्च अधिकारीहरूले नै मोटो रकम चलखेल गरी बलात्कारका घटना मिलापत्र गराएका समाचार पनि आइरहने गरेका छन्। प्रायजसो बलात्कारका घटनामा पीडकलाई कारबाहीको दायरामा ल्याउने कुरा जोडतोडका साथ उठ्ने गरे पनि पीडितको जनजीवन सहज बनाउने कुरामा ध्यान दिएको पाइँदैन।

हाम्रो समाजमा बलात्कृत महिलालाई नकारात्मक दृष्टिकोणले हेर्ने गरिन्छ। उनीहरूको पुनस्र्थापना र समाजमा सहजरूपमा जीवन जिउने वातावरण बनाउनेतर्फ सम्बन्धित निकायको खासै ध्यान गएको पाइँदैन। राज्य संयन्त्रले मात्र हैन, सरोकारवाला सबैले बढ्दै गएको बलात्कारका घटना न्यूनीकरण गर्न लाग्नुपर्ने त छँदै छ, पीडित पक्षको संरक्षणमा ध्यान दिनु उत्तिकै जरुरी छ। जो पीडित छन् उनीहरूको सहज जीवन जिउने वातावरण बनाउन सकिएन भने समाजमा अपहेलित भएर बाँच्नुपर्ने बाध्यता आउन सक्छ। अतः बलात्कारका घटनामा पीडकलाई कारबाहीको लागि जति आवाज उठ्छ पीडितको भावी जीवनरक्षाका लागि उत्ति नै ध्यान दिनुपर्ने देखिन्छ। साथै अपराधशाश्त्रीय दृष्टिकोणबाट बलात्कारको घटना न्यूनीकरणमा लाग्न र समाजशास्त्रीय दृष्टिकोणबाट पीडितको संरक्षण गर्न विशेष गरी राज्य संयन्त्र र सरोकारवालाहरूले बेलैमा ध्यान दिनुपर्छ।

प्रतिक्रिया दिनुहोस्