वन डढेलो व्यवस्थापनमा राष्ट्रिय सतर्कताको साझा अभियानको खांचो



वन डढेलोको प्रभाव

नेपालमा केहि वर्ष यता वन डढेलो अपवाद वाहेक हरेक वर्षको नियति एवं एक गम्भिर उल्झनको रुपमा देखा परिरहेको छ । वनको विनाश र क्षयिकरणको प्रमुख कारण मानिएको वन डढेलोबाट हरेक वर्ष जनधनको क्षति बढ्दो छ । वन डढेलो र बढ्दो तापमानको दुश्चक्रिय अन्तरसम्वन्धले थप सामाजिक, आर्थिक तथा वातावरणिय समस्याहरु बढ्दै गएको महसुस गरिएको छ ।

वन डढेलोबाट मात्र शोषित कार्बनको ७ प्रतिशत भन्दा बढि कार्बन उत्सर्जन हुने गरेको तथ्यहरु प्रकाशमा आएका छन । ‘आगो एक असल नोकर हो तर खराब मालिक’ भने जस्तै आगोलाई वन व्यवस्थापनमा असल वनाउन सकिएको छैन । सन् २००९ मा वन डढेलोमा परी १४ सैनिक जवान सहित ४९ जना, २०१० मा ९ जना, २०१४ मा १३ जना, २०१६ मा ११ जनाको निधन तथा हरेक बर्ष कैयौं जना गम्भिर घाईते भएका घटना अझ ताजै छन ।

यस वर्ष हालसम्म डढेलोले ३ जनाको मृत्यु भईसकेको छ । वन विभागको पछिल्लो तथ्यांक अनुसार २०१६ मा करिब ३ लाख ५० हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको उल्लेख छ । तर जानाकारहरु यी तथ्यांक भन्दा कयौं बढि वन क्षेत्र डढेलोको चपेटामा परेको बताउछन । डढेलो मानव बस्तीमा पसेर धेरै घर, गोठ तथा चौपाया जलेका तस्विर अझै ताजै छन डढेलोको मौसममा एकै दिनमा नेपालका सयौं सयौंको स्थानमा डढेलो लागेको नासाका दुर चित्रले देखाउने गरेका छन ।

डढेलोवाट पैह्रो, भु-स्खलन, भल वृद्धि, वाढि आदिबाट समेत वर्षे्नि अपुरणिय क्षति भईरहेको छ । यसरी हरेक वर्ष डढेलोबाट मानब स्वास्थ्य लगायत सामाजिक, आर्थिक तथा वातावरण क्षेत्रमा दीर्घकालीन तथा गम्भिर असर परिरहेको छ । तर न त यस्तो क्षतिको राष्ट्रिय लेखाजोखा गरिएको छ न त डढेलो व्यवस्थापनले राष्ट्रिय प्राथमिकता नै पाएको छ ।

वन डढलो सम्वन्धि मौजुदा कानुनी व्यवस्था तथा कार्यक्रम

नेपालमा ९० प्रतिशतभन्दा बढी वन डढेलो मध्य फागुनदेखि मध्य जेष्ठ सम्मको अवधिमा लाग्ने गरेको छ । वन डढेलोका मुख्य कारण मानवीय तथा अधिकांस जानाजान र केहि हेलचक्राई∕लापरवाहिले हुने गरेको छ । मुलुकी ऐन २०२० ले आगो लगाउने कार्य फौजदारी अभियोग तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०४९ ले यस्तो कार्य निषेध गरी कडा सजाँयको प्रावधान गरेको छ ।

वन तथा भू-संरक्षण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति २०६७, २०७१(८० लाई वन दशक घोषणा तथा वन निति २०७१ मार्फत समेत आधुनिक प्रविधि प्रयोग गरि वन डढेलो नियन्त्रण तथा रोकथाम गर्ने उल्लेख गरेको छ । तथापि डढेलोबाट हुने गरेका गम्भिर क्षतिका बावजुद पनि विद्यमान कानुनी व्यवस्थाहरु कडाईका साथ लागु गर्न सकिएको छैन ।

डढेलो व्यवस्थापनका कार्यहरुको सकारात्मक सन्देश तथा प्रभाव वढ्दो छ तथापि समस्या घट्दो देखिदैन । वन तथा भू–संरक्षण मन्त्रालयले मातहतका कार्यालयहरु मार्फत जनचेतना, तालिम, गोष्ठी, समन्वय, सञ्जाल गठन, पोखरी निर्माण लगायत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । केहि वर्ष यता वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह मार्फत चेतनामूलक र्यायली, सन्देश प्रसारण, प्रयोगात्मक अभ्यास प्रदर्शन, निवन्ध प्रतियोगिता जस्ता कार्यक्रमहरु सञ्चालित छन ।

यस्ता कार्यक्रम वाट गुञ्जने मौसमि विगुलहरुले यो वर्ष त वन डढेलो पक्कै नलाग्ने भयो भन्ने आशा जागाउछ तर बढ्दो गर्मि संगैको हावाहुन्डरीले त्यो आशा फेरी उडाईदिने गर्दछ । वन क्षेत्रको अपुरणिय क्षतिका वावजुद पनि लगत्तै आरम्भ हुने बर्षा मौसमले फेरी हरियाली छाउँछ अनि महिना दिन अघिको डढेलोको बर्वरताहरु हाम्रा मानसपटलवाट विलय हुन पुग्दछन ।

वन डढेलोको कारण र जनताको जिविकोपार्जन संगको अन्तरसम्वन्ध

मुख्यतय दाउरा संकलन गर्न, वन्यजन्तु शिकार लोभ्याउन, कलिलो घांस मुना उमार्न, वन्यजन्तुको शिकार गर्न, जग्गा अतिक्रमण गर्न, मह काढ्न, वेसिमा मल तथा खरानी लगाउन, खोरिया फाँड्न, मौवा, हर्रो, बर्रो, निउरो, टाटा, फुट्की च्याउ आदि संकलन गर्न, डांस भन्ने किरा भगाउन, सडकको नालि सफा गर्न, दसी लुकाउन, खेत बारीमा झेङ्कट सफा गर्न लगायत कार्यबाट मानिसले वनमा आगो लगाउने गरेको पाइएको छ ।

उल्लेखित कार्यहरु जनताका जिविकोपार्जन संग जोडिएका हुंदा त्यसको सम्वोधन गर्न कानुनि कारवाहिको सुनिश्चितता तथा जिविकोपार्जनमा टेवा पुग्ने तथा कृर्षि र वनको अन्तरसम्वन्धलाई मजवुति प्रदान गर्ने कार्यकम संगसंगै लागु गर्नु पर्ने अपरिहार्यता छ । उदाहरणका लागि वेशिमा खेत हुनेले मल लाग्ने परम्परा अनुसार हरेक वर्ष वनबाट बर्षातशुरुमा खरानी र पांगो पाउन हरेक वर्ष वनमा आगो लगाउने गर्दछन ।

वन आसपासमा घर गोठ हुनेले घर गोठमा वनबाट आगो आउने डरले आफ्नै घर गोठ वरपरबाट आगो सल्काईदिने गर्दछन । पुर्व पश्चिम राजमार्ग अन्तरगत चुरे क्षेत्रमा दाउरा विक्री गरि ट्रक वसमा लादेको हामी जो कोहिले देखेका छौ होला तर त्यसरि दाउरा विक्रि गर्नेहरुले वनमा आगो लगाउछन भन्नै हेक्का हामिलाई नहुनसक्छ । सुकेका दाउरा संकलनमा खासै कडाई नहुने हुंदा विक्री गर्ने दाउरा प्राप्त गर्न वनमा उनीहरुले आफै आगो लगाउने गर्दछन ।

अतस् मल लाग्ने परम्परा होस वा वेशी तथा वन आसपासमा घर गोठ सुरक्षित राख्ने वा मौवाको फुल संकलन गर्ने वा हिमाली पाटनहरुमा जडिवुटि संकलन गर्न होस वा यस्तै कार्यहरु हुन डढेलो व्यवस्थापनमा त्यस्ता कार्यक्रम समावेश नहुदासम्म आगो र मालिक दुवै असल देखिन सक्ने छैनन । ‘रातभरी सराप्यो महाजन त जिउंदै’ भने जस्तै जनताका जिविकोपार्जनका कार्यहरु सँग तालमेल मिलाउन नसकेमा हाम्रा किसानहरु दिनभरी वन कर्मचारीसंग वनमा डढलो निभाउन जाने तर रातपर्दैगर्दा घरका दुध दिने तथा व्याउने गाईवस्तुका लागि कलिलो घांस उमार्न वन तथा खरवारीमा आगो झोस्न छोड्ने छैनन ।

वन डढेलो व्यवस्थापनको जटिलता तथा गाम्भिर्यता

वन क्षेत्रको व्यापकता, सर्वसाधरणको लापरवाही, स्रोत साधनको कमी, भौगोलिक विकटता, दण्डहिनता तथा निस्कृयता, जिम्मेवारि तथा जवाफदेहिताको अस्पस्टता जस्ता कारण डढेलो व्यवस्थापनको कार्य फितलो हुने गरेको छ । वन डढेलो व्यवस्थापनका कार्यक्रमहरु बाहिरि देखाईमा व्यापकता पाए जस्ता तर सारमा फितला र प्रभावहिन, कर्मकाण्डी उपचार भईरहेका तर निको हुने छाँटछन्द नरहेका जस्ता त होईनन ?

कुनै वर्ष प्राकृतिक वर्षा भएर वन डढेलो नियन्त्रणमा आएकोमा वाहेक हामिले सञ्चालन गरेका कार्यबाट वन डढेलो नियन्त्रणमा आएको हो भनि एकिन हुन सकिने अवस्था छ त ? गम्भिररुपमा समिक्षा गर्नु पर्ने देखिन्छ । देशमा वग्रेल्ती गैर सरकारी निकायहरु समेत छन तर किन वन डढेलो कसैको छनौटको विषय तथा कार्यथलो वन्न सकेको छैन ?

हाम्रा रोकथामका उपायहरु देखावटी, प्रतिरक्षात्मक उपायहरु फितला र प्रतिरोधात्मक उपायहरु कमजोर तथा असुरक्षित देखिएका छन् । एक हप्तामानै सबै जलेर सफाचट हुन्थ्यो तपांईहरुको यो आगो निभाउने नाटकले वित्थैमा एक महिना लाग्ने गराईदिनुहुन्छ भनेर कतिपय गांउलेहरु व्यङ्ग्य समेत गर्ने गर्दछन । डढेलो नियन्त्रणका कार्यहरु अत्यन्त गाह्रा र जटिल हुने गर्दछन जुन डढेलोको राप अनि भु-बनोट बाट सिर्जनाहुने त्रास र ज्यानको जोखिम अनुभुति गरेकालाई मात्र थाहा हुन सक्दछ । नेपालमा मुख्य गरि हिमाली चरन तथा टुण्ड्रा वन, पहाडि साल वन, खोटे सल्लाको वन र चुरे तथा तराईको साल तथा मिश्रित वन डढेलोको चपेटामा वढि पर्ने गरेको देखिएको छ ।

हाम्रा कार्यक्रमहरु वास्तवमा अझैपनि वन डढेलो कर्ता र स्थान दुवैमा प्रभावकारी तवरले पुग्न सकेका छैनन । सञ्जालका व्यक्ति संग संवाद र संयोजन गर्दागर्दै वन क्षेत्र सखाप हुने समेत गरको छ । संचालित कार्यक्रमहरुले छोएका सरोकारवालाहरु वास्तविक रुपमा आगो व्यवस्थापनको कार्यमा कमै खट्ने र उनिहरु अरुहरुलाई आदेश दिने वा सकभर तर्कने गरेको देखिदा वन डढेलो निभाउने कार्य ‘तैं रानी मै रानी कसले भर्ने पानी’ जस्तो समेत वनेको देखिन्छ ।
हाल प्रयोगमा ल्याईएका वन डढेलोका केहि सामाग्रिहरुको प्रवन्ध भएमा मात्र त्यसैलाई रामवाण ठान्ने गरिन्छ । वास्तवमा ति सामाग्रिहरु डढेलो नियन्त्रण भन्दा पनि रोकथाममा उपयुक्त हुने देखिन्छन । ‘घैया रोपेर धान फल्दैन’ भने जस्तै तालिम गोष्ठि या यस्तै प्रचारात्मक कार्यहरु वाट मात्र भन्दा पनि वास्तविक कर्ता संग फिल्डमा गर्नैपर्ने ज्वलनशिल पदार्थको व्यवस्थापनका कार्यहरु तथा पुर्व तयारिका ठोस कार्यहरुवाट मात्र डढेलो रोकथाम सम्भव हुन्छ ।

वन तथा भू–संरक्षण मन्त्रालय मातहतका कार्यालयहरुमा रहेका केहि वन कर्मचारी तथा वन रक्षकहरु वाट मात्र वन डढेलोको समस्या समाधान हुन्छ भन्नु मुर्खता मात्र हुनेछ । साँझपखको भेटघाट तथा एउटा खोस्टे प्रशंसापत्र प्रदान गरेर जवरजस्त तय गर्ने गरिएको सम्पर्क र समन्यय वाट ठुलो उपलब्धि आशा गर्नु ‘हुटिट्याउ ले आकाश थाम्दिन्छ’ भन्नु जस्तै हो ।

उपयुक्त वाटो र तरिका

ज्वलनशिल पदार्थको उचित व्यवस्थापननै आगो व्यवस्थापनको उत्तम वाटो र तरिका पनि हो । गर्मि तथा हावाहुरी संगै हरेक वर्ष रुख विरुवाको पुराना पात तथा हागाविगा झर्दछन । सालको वनमा त एकै वर्षमा झण्डै २ फुटसम्मको झरेका पातको तह हुने गर्दछ । यस्तो वनमा सडकको नाली समेत एक हप्तामानै भरिने गर्दछ ।

यस्तो स्थानमा आगो लाग्नै नदिनु भन्दा एक सिजनमा ३-४ पटक नियन्त्त्रित आगो लगाउनु राम्रो हुन्छ । किनकि धेरै वर्षसम्म वनमा आगो नलागेको र ज्वलनशिल पदार्थ सबै कुहिएर जान नसक्ने हुदां पछी अचानक आगलागि हुदा उक्त वन क्षेत्र तथा माटोमा समेत गम्भिर क्षति पुग्दछ । ‘फलामलाई फलामले काट्छ’ भने जस्तै ‘आगोलाई आगोले निभाउछ’ त्यसैले डढेलो व्यवस्थापनमा नियन्त्रित आगो लाई एउटा अ‍ैजारको रुपमा प्रयोग गर्ने कार्य बढि वुद्धिमतापुर्ण हुन आउछ ।

नियन्त्रित आगो स्वस्थ पर्यावरणको अभिन्न साधन पनि हो । वनको सक्रिय व्यवस्थापनका कार्यहरु जस्तै गोडमेल, झाडि सफाई, हांगा छट्याई, पत्ल्याउने, अग्नि अबरोधक निर्माण तथा सफाई तथा वनको व्लक अनुसार व्यवस्थापन कार्य सञ्चालन गर्न वजेट व्यवस्था भएमा वन डढेलोवाट हुने क्षति कम हुने तथा नियन्त्रित∕प्रिस्क्राइब्ड डढेलो लगाउन समेत सजिलो हुन्छ । यस्तो कार्यले वनको वैज्ञानिक व्यवस्थापनलाई इंगित गर्दछ ।

देशभरका वन क्षेत्रमा डढेलोको मौसमभर निगरानी तथा चनाखो भई कार्यक्रम सञ्चालन गर्नसक्ने वन क्षेत्रको संरचना, आधुनिक सामग्री र दक्ष जनशक्तिको व्यवस्था तथा जवाफदेहिताको प्रणालि विकास गरी स्थानीय स्तरदेखी केन्द्रसम्म प्रभावकारी समन्वय मार्फत स्थानीय सरकार तथा जनसमुदाय, नेपाल प्रहरी, नेपाली सेना तथा राजनैतिक दलहरु समेतको सक्रियता र सहभागितामा कार्यक्रम सञ्चालन हुनु अपरीहार्य छ । संलग्न हुने निकायहरु तथा सरोकारवालाहरुलाई नितिगत तथा कार्यात्मक हिसावले साझा जिम्मेवारी सुम्पनु र त्यसका लागि जागरण गर्नु र सजग वनाउनु उत्तिकै जरुरी छ ।

जिविकोपार्जनका साना स्वार्थ तर त्यसको अन्तरसम्वन्ध तथा असरको बोध नभएका ग्रामिण किसानहरु लाई वन डढलो सम्वन्धमा सुशुचित गराउनु पुर्वशर्त हुनु पर्दछ । वन डढेलो र जिविकोपार्जन संग अन्तरसम्वन्ध रहने व्यक्ति, वर्ग, समुदाय तथा स्थान को पहिचान गरी डढेलो व्यवस्थापनका कार्य उनिहरु लक्षित गरि सञ्चालन गर्ने मुलमन्त्र हुनु पर्दछ । कानुनी व्यवस्थामा समेत सुधार गरी डढेलो निभाउन जाँदा मृत्यु र घाइते हुनेका लागि राहत, क्षतिपुर्ति तथा प्रोत्साहनको प्रावधान गर्नु पर्दछ ।

वन डढेलो वाट हुने क्षति वहुआयामिक तथा गम्भिर प्रकृतिको हुने हुंदा पक्कैपनि यसको उचित व्यवस्थापनमा गरिनुपर्ने लगानि समग्रतामा अ‍ैचित्यपुर्ण हुनेमा शंका नहोला ।

यस वर्ष अहिले सम्म छिटपुट वर्षा भईरहेकाले वन डढेलोको प्रकोप खासै देखिन सकेको छैन तथापि बढ्दो गर्मि संगै विगतमा जस्तै वन डढेलोवाट वन क्षेत्र चपेटामा पर्ने खतरा नकार्न सकिदैन । हाल पुराना संरचनाहरु खारेज हुदै नयां संरचना वन्ने क्रममा जिम्मेवारी तथा उत्तरदायित्वको खडेरी पर्न सक्छ ।

त्यसले लोकका लागि गरिने डढेलो व्यवस्थापन जस्तो पबित्र कार्यमा लोक कल्याणकारी राज्यले विशेष प्राथमिकता दिई ‘राष्ट्रिय सतर्कताको साझा अभियान’ सञ्चालन गर्नु आजको टड्कारो आवश्यकता हुन गएको छ ।

प्रतिक्रिया दिनुहोस्