विधुत महसुल नतिर्ने ग्राहकको लाइन काट्न शुरु



नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको फलेबास नगरपालिकाले बिद्युत महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको छ ।
फलेबास नगरपालिका वडा नं १ कार्किनेटामा चार दिन देखि महसुल नतिर्ने ग्राहकको लाईन काट्न शुरु गरेको हो ।

लामो समय देखि बिद्युत महसुल नतिरेका ग्राहकको लाईन काट्ने निर्णय गरेपछि वडा अध्यक्ष बाबुराम शर्माको नेतृत्वमा चार दिन देखि धेरै लाईन काटिएको छ । महसुल नतिर्ने कसैलाई पनि काखापाखा नगरि बिद्युतको लाईन काटिएको अध्यक्ष बाबुराम शर्माले बताए । ‘बिद्युत उपभोग गर्ने तर महसुल नतिरेको लामो समय भएकाले उपभोक्ता समितिको निर्णय अनुसार सबैको लाईन काटिएको हो’ उनले भने ।

अभियानका क्रममा वडामा बिद्युत महसुल नतिरेका सबै ग्राहकको लाईन काट्ने उनले जानकारी दिए ।

फलेबास नगरपालिकाको वडा नं १ कार्किनेतमा ४ सय ६५ घरधुरी रहेका छन । सामुदायिक बिद्युतीकरण मार्फत उपभोक्ताले श्रमदान गरि गाउँमा बिद्युत बालेका थिए । सामुदायिक बिद्युतीकरण भएको दशक भन्दा बढी भैसकेको छ ।

केही उपभोक्ताले समितिलाई अटेर गरेर बिद्युत महसुल तिर्न आनकानी गरेकाले लाईन नै काट्नु परेको वडा अध्यक्ष बाबुराम शर्माले बताए । बिद्युतको लाईन काटेपछि उपभोक्ताले धमाधम बक्यौता तिर्न थालेका छन । एकै दिन ६० हजार रुपैयाका दरमा बक्यौता समेत उठिरहेको छ । बिहान लाईन काटेपछि हातहातमै पैसा लिएर बुझाउन थालेका छन । ‘बिहान लाइन काटेपछि साँझ बक्यौता तिर्न थालेका छन’ उनले भने ‘लाईन काटेपछि जोड्दिनुपर्ने अवस्था आएको छ’ ।

फलेबास नगरपालिकाले सबै वडामा बक्यौता उठाउन यसरी नै लाईन बन्द गर्ने योजना बनाएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका अधिकाँश वडामा सामुदायिक बिद्युतीकरणबाट बत्ती बलेको हो । अहिले महसुल नतिर्ने लगायतका समस्याले समिति आर्थिक संकटमा पर्दा मर्मतको काम समेत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्