भारतको पूर्णागिरी दर्शनपछि नेपालको सिद्धनाथ नपुगी पुण्य मिल्दैन



महेन्द्रनगर । कञ्चनपुरमा रहेको धार्मिक स्थल सिद्धनाथ बैजनाथ धाममा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।
भारतको पूर्णागिरीमा जारी मेलाको दर्शन गरिसकेपछि कञ्चनपुरमा रहेको सिद्धनाथ बैजनाथ धाममा अनिवार्य रुपमा दर्शन गर्नुपर्छ भन्ने धार्मिक मान्यताका कारण पनि भिडभाड बढेको हो ।

धार्मिक हिसाबले भारतको प्रख्यात धार्मिक स्थल पूर्णागिरीमा मनले चिताएको पुरा हुने मनोकांक्षाले अधिकांश भारत र नेपालका दर्शनार्थीहरुले पूर्णागिरी दर्शन गर्ने गर्दछन् भने सो पश्चात नेपालमा रहेको सिद्धनाथ बैजनाथ धामको दर्शन गर्ने गर्दछन् ।

कञ्चनपुरको बह्मदेवमा समेत सिद्धनाथ बैजनाथ धाम रहेकाले अधिकांश भक्तजनहरु बह्मदेवमा गएर समेत दर्शन गर्ने गर्दछन् । मेलामा करिब ९० प्रतिशत भारतीय भक्तजनहरु आउने गर्दछन । पहिलो आफ्नो समस्या सामाधान होस भनी प्राथर्ना गर्ने र उक्त प्राथर्ना सफल भएपछि मन्दिरमा आएर दर्शन गर्नुका साथै विभिन्न घण्टी, ध्वजा लगायतका सामाग्रीहरु चढाउने गर्दछन् ।

कञ्चनपुर लगायत तराइका भूमिलाई सिद्ध बैजनाथको भूमिका रुपमा समेत चिनिदै आएको स्थानीय पुष्कर राज उप्रेतीको भनाइ छ ।

आफूहरु पूर्णागिरीको दर्शनपछि नेपाल आएर सिद्धनाथ बैजनाथको दर्शन गर्न पाउँदा आफ्नो मनोकामना पूर्ण हुने भारतीय दर्शनार्थी शिव कुमारले बताउनुभयो ।

सत्यदेवीको अंगपतन हुदाँ बाँया कान पूर्णागिरीमा भएको हुँदा पूर्णागिरी दर्शन गरेपछि अनिवार्य रुपमा सिद्धनाथ बैजनाथ धामको दर्शन गर्ने प्रचलन धेरै पहिले देखि चलनचल्तीमा रहदैं आइरहेको छ । होली पूर्णिमादेखि असार पूर्णिमा सम्म ४ महिना जारी रहने मेलामा करिब १ करोडभन्दा बढी भक्तजनहरुले दर्शन गर्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्