जेष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य शिविर संचालन



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका स्थानीय तहरुले जनताको घरदैलोमा जनप्रतिनिधि कार्यक्रम संचालन गरेका छन् । जनताका आधारभुत आबश्यकताहरु घरदैलोमै गएर पुरा गर्ने उद्देश्यका साथ जनप्रतिनिधिहरुले अभियान संचालन गरेका हुन् । बाँफिकोट गाँउपालिकाले जेष्ठ नागरिकहरुका लागी निशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको छ ।

बिभिन्न समस्याका कारण उपयुक्त ठाँउमा पुगेर उपचार गर्न नसकेका जेष्ठ नागरिकको लागी घरदैलोमै स्वास्थ्य शिविर संचालन गरिएको बाँफिकोट गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सीले बताउनुभयो । अध्यक्ष के.सीले गाँउपालिकाको सामान्य आर्थिक सहयोगले पनि धेरै स्वास्थ्य सेवा दिने बिश्वास व्यक्त गर्नुभयो ।

रुकुम पश्चिम जिल्लामा पहिलो पटक जेष्ठ नागरिकका लागी मात्र स्वास्थ्य शिविर संचालन गरिएको हो । कर्णाली प्रदेशको दैलेख पछि रुकुम पश्चिम जेष्ठ नागरिकका लागी स्वास्थ्य शिविर संचालन गर्नेमा दोस्रो जिल्ला भएको छ ।

आर्थिक अवस्था कमजोर भएर तथा असक्त भएर स्वास्थ्य उपचार गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै बिशेषज्ञ डक्टरहरुको बोलाएर जनताको घरआगनमा शिविर संचालन गरिएको बाँफिकोट गाँउपालिकाका स्वास्थ्य संयोजक नन्दलाल महतोले बताउनुभयो ।

जेष्ठ नागरिकको लागी गरिएको निशुल्क स्वास्थ्य शिविरमा महिला रोग बिशेषज्ञ सहितको २ जना डाक्टरहरु खटाइएको छ । शिविरमा सामान्य स्वास्थ्य समस्या देखी महिलाको पाठेघर खस्ने समस्याको उपचार गरिने तथा शिविरमा उपचार संभव नभएको अवस्थामा नेपालगंज मेडीकल कलेजमा निशुल्क उपचार गरिने व्यवस्था मिलाइएको शिविरमा सहभागी नेपालगंज मेडीकल कलेजका टोली प्रमुख अवदुल हुसेन खाँले बताउनुभयो ।

बाँफिकोट गाँउपालिकाले यस भन्दा अघि निशुल्क रुपमा कुष्ठरोग तथा क्षय रोगका बिरामीको लागी छुट्टै शिविर पनि संचालन गरेको थियो ।

यसै गरी बाँफिकोट गाँउपालिकाकै कुसारी पोलिकिल्नीकले पनि स्वास्थ्य शिविरमा सहयोग गरेको छ । बाँफिकोट गाँउपालिकासँग सहकार्य गर्दै जनताको घरदैलोमा सेवा दिने पोलिक्लिनीका प्रमुख डिलबहादुर कुसारीले जानकारी दिनुभयो ।

निशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै बाँफिकोट गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र कुसारीले गाँउपालिकाले जनतालाई आधारभुत सेवा दिनका लागी हरदम प्रयास गर्ने बताउनुभयो ।

२ दिने निशुल्क कुष्ठरोग तथा क्षय रोग सम्बन्धी शिविरमा एक सय भन्दा बढीले उपचार गराएका थिए भने मंगलबारबाट सुरु भएको जेष्ठ नागरिक सम्बन्धी निशुल्क स्वास्थ्य शिविरमा १० वटै वडाका उलेख्य मात्रामा जेष्ठ नागरिकले उपचार पाउने बिश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्