म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा



याङ्गुन । म्यानमारका राष्ट्रपति उ तिन कायले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपतिको कार्यालयका अधिकारीकाअनुसार उहाँले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको जनाइएको छ ।

उहाँले  बुधबार पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिनुभयो ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुहुने जनाइएको छ ।

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो । उहाँले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्