‘कर्मचारीलाई स्वच्छिक अवकाश दिन सकिन्न’



विराटनगर  । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्ति रुपमा रहेको निजामती कर्मचारीलाई स्वच्छिक अवकाश दिन नसकिने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरुपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पारे ।

 

उनले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने दृढतासमेत व्यक्त गरे । मन्त्री पण्डितले वर्तमान संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको धारणा व्यक्त गरे । मन्त्री पण्डितले आगामी आइतबार सबै मन्त्रालयमा तोकिएको क्षेत्रमा कर्मचारी पठाउनका लागि पत्र पठाउने जानकारी दिँदै सम्बन्धित ठाउँमा नजाने कार्मचारीलाई निजमती ऐनअनुसार कारबाही हुने बताएका छन् । उनले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखि कार्यक्षेत्रमा नजाने कर्मचारी कारबाहीको भागिदारी स्वय् हुनुपर्ने बताए ।

 

मन्त्री पण्डितले सरकारले खटाएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागिदार हुने प्रष्ट पारे । अहिलेको सरकारको प्रमुख लक्ष्य भनेको आर्थिक समृद्धि र विकास भएकाले त्यसका लागि राष्ट्रसेवक कर्मचारीको सहयोग आवश्यक रहेको बताए । एक प्रश्नको जवाफमा मन्त्री पण्डित अघिल्लो सरकारले गरेका कतिपय निर्णयको मूल्यांकन गरिने र कानुन विपरीत भएकामा खारेज हुने बताए । उनले संघीयता असफल नहुने बताउँदै यसमा देखिएका कमी कमजोरी हटाउँदै यसलाई सफल कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको छ भनेर व्यक्त गरे ।-रासस

प्रतिक्रिया दिनुहोस्