सर्वाधिक पुरस्कार राशीको डीपीएल–२ को तयारी तीब्र



कैलाली । धनगढीमा हुने सर्वाधिक पुरस्कार राशीको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को तयारी तीब्र रुमा अगाडी बढेको छ ।
प्रतियोगिता शुरु हुन् दश दिन मात्र बाँकी रहँदा खेल मैदानमा पिचको काम करिब सकिएको छ ।

दुई महिना लगाएर मैदान निर्माणको काम सकिएको आयोजक धनगढी क्रिकेट एकेडेमीका संयोजक सुभाष शाहीले बताए । अहिले खेल मैदान स्थलमा अस्थायी प्याराफिट, बार हाल्ने, घास काट्ने काम भैरहेको बताउँदै संयोजक शाहीले प्रिमियर लिग–२ मा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, रुपेन्देही च्यालेन्जर्स र टिम चौराह धनगढी गरी ६ टोलीले सहभागिता रहेको बताए ।

उनले प्रतियोगिताका टोलीहरुले अक्सनबाट खेलाडीहरु अनुबन्ध गरिसकेको बताउँदै प्रत्येक टिममा एक रणनैतिक खेलाडीसहित दुई विदेशी खेलाडी पनि रहने बताए । शाहीका अनुसार प्रतियोगिताको संचालनका लागि करिब तीन करोड खर्च लाग्ने छ ।

विजेतालाई २५ लाख तथा उप–विजेतालाई १० लाख रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।  तृतीय हुनेलाई ३ लाख र चौथोलाई २ लाख प्रदान गरिने छ भने प्रत्येक खेलका म्यान अफ द म्याचले रु १० हजार तथा म्यान अफ द सिरिजले मोटरसाइकल पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १÷१ लाख रुपैयाँ प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्