विद्यालयमा छात्रा आफैँ बनाउँछन सेनेटरी प्याड, २५ रुपैँयामा बेच्छ विद्यालय



सुमन घिमिरे, मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफँैले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आउनुभएको छ ।

लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइएको सेनेटरी प्याड पूर्ण सरसफाइका साथ प्रयोग गर्दै आएका छन् ।
कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्नुहुन्छ, “फलाटिनको कपडा प्रयोग गरेर बनाइएको सेनेटरी प्याड पुन ः प्रयोग गर्न मिल्ने र नरमसमेत हुने भएकाले प्रयोग गर्ने गरेका छौँ ।” एक मिटर कपडाबाट चार वटा सेनेटरी प्याड बनाउन सकिने र तत्काल आवश्यक पर्दा विद्यालयमा रु २५ तिरेर छात्रालाई प्रयोग गर्न दिइन्छ ।”

सो रकमबाट छात्राले प्याड बनाउन आवश्यक पर्ने सामग्री किन्ने गरेका छन् । कपडालाई साइजअनुसार काटी सियो–धागोले सिलाएर खिपसमेत प्रयोग गरिन्छ । फलाटिनको कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । प्याड २१ इन्च लम्बाइ र १४ इन्च चौडा हुन्छ । छात्राले आफैँ बनाएको सेनेटरी प्याड विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाले पनि प्रयोग गर्दै आएका छन् । कक्षा ६ देखि ८ सम्मका छात्रा खुलेर विद्यालयमै सेनेटरी प्याड मात्र बनाउँदैनन्, महिनावारीको विषयमा पनि खुलेरै छलफल गर्ने भएका छन्् ।

प्लान नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) ले विद्यालयमा संयुक्त रुपमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि छात्रा आफँै सेनेटरी प्याड बनाउन र महिनावारीका विषयमा खुलेरै कुरा गर्न सक्ने भएका हुन् । विद्यालयमा १४ छात्राको महिनावारी स्वच्छता तथा व्यवस्थापन किशोरी समूह बनाइएको छ । सोही समूहमा छात्रा भेला भएर सेनेटरी प्याड बनाउनाका साथै महिनावारीका विषयमा छलफल गर्दै आएका हुन् । समूहले महिनावारीका विषयमा सचेतनामूलक सडक नाटकसमेत छिमेकका चार वटा विद्यालयमा देखाइसकेका छन् ।

प्लान नेपाल र सिएसडिसीले शुरुमा केही छात्रालाई सेनेटरी प्याड बनाउन सिकायो । त्यसपछि सिकेका छात्राले एकदिने तालीम सञ्चालन गरेपछि सबै छात्रा सजिलै सिनेटरी प्याड बनाउने भएका हुन् । उनीहरुले पुन ः प्रयोग गर्न सकिने प्याड बनाउन अभिभावकलाई समेत सिकाएको छात्रा सभ्या लिम्बूले बताउनुभयो ।

“महिनावारी भएको बेला विद्यालय आउन मनै लाग्दैन थियो, साथीहरूले जिस्काउँछन् कि भन्ने डर लाग्दथ्यो,” कक्षा ८ मा अध्ययनरत अमिशा लिम्बूले भन्नुभयो, “तर, यसबारे तालीम पाएपछि कुनै डर लाग्दैन । पढ्दापढ्दै महिनावारी भयो अथवा कुनै अप्ठ्यारो भयो भने स्कूलमै छुटृै कोठा भएकाले सबै छात्रालाई सहज भएको छ ।”

विद्यालयमै छात्रा आफँैले सेनेटरी प्याड बनाउन थालेपछि महिनावारी भएको बेला विद्यालय नआउने छात्राको संख्या शत्प्रतिशत घटेको प्रधानाध्यापक ठमेश मोक्तानले बताउनुभयो । यसअघि महिनावारीको बहानमा धेरै छात्रा विद्यालय नआउने गरेकामा अहिले त्यस्तो अवस्था नरहेको चर्चा गर्दै प्रअ मोक्तानले भन्नुभयो, “विद्यालयमै आराम कक्ष र सेनेटरी प्याडको व्यवस्थाले गर्दा उनीहरु सहज रुपमा विद्यालय आउन थालेका छन् ।” विद्यालयमा कूल २०० विद्यार्थी अध्ययनरत छन् । -रासस

प्रतिक्रिया दिनुहोस्