‘अप्रिल २२ अघिनै पार्टी एकता हुन्छ’



हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अप्रिल २२ अघि नै पार्टी एकीकरण गर्ने विषयमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति भएको बताएका छन् ।

प्रेस सेन्टर मकवानपुरले बुधबार बिहान हेटौंडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पार्टी एकीकरण अन्तिम चरणमा पुगेको दाबी गरे ।

अन्तरिम राजनीतिक प्रतिवेदन सम्बन्धी कार्यदल र अन्तरिम विधान र संगठन समायोजन सम्बन्धि कार्यदलको रिपोर्ट प्राप्त भएपछि दुई नेताबीच औपचारिक सहमती भएकै दिन पार्टी एकता प्रकृयामा टुङ्गोमा पुग्ने उनले बताए ।

प्रदेशहरुमा सरकारलाई गतिशिल बनाउन ऐन, कानुनको अभावले जटिलता बढेकाले छिट्टै नै प्रदेशको ऐन कानुनको मस्यौदा निर्माण र प्रदेशसभाबाट पारित हुनुपर्नेमा उनले जोड दिए । यसैगरी सबै प्रदेशहरुमा नामाकरण र राजधानी कहाँ राख्ने बिषयमा छलफल अघि बढिरहेको समेत उनले बताए ।

प्रदेश नम्बर ६ मा सर्वसहमतीले नामाकरण र राजधानीको टुङ्गो लागिसकेको बताउँदै अध्यक्ष दाहालले ३ नम्बर प्रदेशको राजधानी हेटौंडा रहनेमा पार्टीबीच सैद्धान्तिक सहमती भएको जानकारी दिए ।

वर्तमान सरकारलाई मधेशवादी दलहरुको समेत समर्थन रहेका कारण राजनीतिक सहमतिको वातावरण बनेको भन्दै अध्यक्ष दाहालले अब विकास निर्माणको कामले गति लिने दाबी गरे । जनताले एक्शनमै विकास हेर्न चाहेको भन्दै अध्यक्ष दाहालले तीनै तहको सरकार विकास निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्