फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी प्रहरी हिरासतमा कर्णेल गद्दाफीबाट अवैध पैसा लिएको आरोप



पेरिस, (एजेन्सी)
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई सोधपुछका लागि प्रहरीले हिरासतमा लिएको मंगलबार सञ्चार माध्यमले जनाएको छ। उनीमाथि चुनाव प्रचार प्रसारका लागि लिबियाका हत्या गरिएका नेता कर्णेल मोमर गद्दाफीसँग आर्थिक सहयोग लिएको आरोप लगाइएको छ।

प्रहरीले सन् २००७ मा उनको राष्ट्रपतीय चुनावी अभियानको दौरान भएको बताइएका आर्थिक अनियमिततामाथि गम्भीर ढंगले अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै सिलसिलामा प्रहरीले यसअघि पनि सार्कोजीसँग सोधपुछ गरिसकेको छ। तर उनले भने आफूले कुनै गलत काम नगरेको अडान लिँदै आएका छन्।

मध्य–दक्षिणपन्थी राजनीतिज्ञ सार्कोजी सन् २०१२ मा चुनावमा पराजित भएका थिए। न्यायिक सूत्रले उनलाई पश्चिमी पेरिसको उपनगर नान्टेर्रेमा सोधपुछ भइरहेको जनाएको छ। सन् २०१३ मा आफ्नो चुनावी अभियानका लागि गद्दाफीको अवैध कोषबाट फाइदा लिएको भन्ने उनीविरुद्धको आरोपमाथि फ्रान्समा छानविन शुरू भएको थियो।
अन्य केही स्रोतले सार्कोजीका निकटतम व्यक्ति तथा पूर्वमन्त्रीमध्येका एक ब्राइस होर्टेफेक्स्लाई पनि मंगलबार यस सम्बन्धमा प्रहरीले सोधपुछ गरिरहेको जनाएका छन्। यसै अनुसन्धानको एक भागका रुपमा मुद्रा अपचलन गरेको अभियोगमा सार्कोजीका पूर्वसहयोगी अलेक्जान्द्रे जोहरीलाई गत जनवरीमा लन्डनमा पक्राउ गरिएको थियो।

उनलाई बेलायतबाट फ्रान्स ल्याउने प्रयास भइरहेको छ। रोयटर्स समाचार निकायका अनुसार यी स्विस व्यापारीले आफूमाथि लगाइएका आरोपहरु अस्वीकार गरेका छन्। उनले यो अनुसन्धान राजनीतिक पूर्वाग्रहबाट प्रभावित रहेको बताएका छन्। गद्दाफीबाट यसरी अवैध आर्थिक सहयोग भएको खुलासा एकजना फ्रेन्च–लेबनानी व्यापारी जियाद ताकिइद्दिने र गद्दाफीकै केही पूर्वसरकारी अधिकारीहरुले गरेका हुन्।

अनुसन्धान आवश्यक चरणमा पुगिनसकेकाले सार्कोजीलाई ४८ घण्टासम्म प्रहरी हिरासतमा राख्न सकिने सञ्चार माध्यमले जनाएको छ। साथै लिबिया आरोपलाई लिएर उनलाई पहिलो पटक हिरासतमा लिइएको पनि जनाइएको छ। फ्रान्सका कुनै पनि पूर्वराष्ट्रपतिमाथि भएको यस्तो कारबाही पहिलो हो।

यसअघि सन् २०१४ मा उनलाई चुनाव अभियानमा पैसा दुरुपयोग गरेको बारेमा सोधपुछ गर्न प्रहरीले हिरासतमा लिएको थियो। सन् २०१६ को नोभेम्बरमा जियाद ताकिइद्दिनेले फ्रेन्च न्युज वेबसाइट मिडियापार्टलाई भनेका थिए– ‘सन् २००६⁄०७ मा मैले २ सय र ५ सय युरो नोटले भरिएका तीनवटा सुटकेस सार्कोजी र उनका विशेष सल्लाहकार क्लाउडे गुएन्टलाई दिएको थिएँ। उक्त कुल ६२ लाख अमेरिकी डलर बराबरको रकम गद्दाफीले दिएका थिए।’

उनलाई सन् २००८ मा ५ लाख युरो बैंक ट्रान्सफर गरेको आरोपलाई लिएर यसैवर्षको शुरूसम्म औपचारिक अनुसन्धानमा राखिएको थियो। उनले आफूले कुनै गलत काम नगरेको र सो रकम दुईवटा पेन्टिङ बिक्रीबाट प्राप्त भएको बयान दिएका थिए। फ्रेन्च डेली ले मोनडेले लिबियाली पूर्वअर्थमन्त्री बसिर सालेहले गद्दाफीले सार्कोजीलाई पैसा दिएको पुष्टि गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्