‘वायुसेवा निगमको गौरव प्रतिस्थापित गर्नुपर्छ’– मन्त्री अधिकारी



नेपाल समाचारपत्र
काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नाफामूलक योजना, दक्षजनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त विमान सञ्चालन गरी नेपाल वायुसेवा निगमको गौरव प्रतिस्थापित गर्नुपर्ने बताउनुभएको छ।

निगमको मंगलबार निरीक्षण गर्नुहुँदै मन्त्री अधिकारीले निगमसँग आवद्ध प्रत्येक व्यक्तिले सामुहिक उत्तरदायित्वको अवधारणा लिई काम गरेमा लक्ष्य प्राप्तिमा सफल हुने बताउनुभयो। निगम व्यापारिक संस्था भएका कारण व्यावसायिक कुशलता अभिवृद्धि गर्नुका साथै सामाजिक सेवातर्फ पनि समानान्तर रूपमा अघि बढ्न योजना बनाउने, त्यसलाई कार्यान्वयन गर्ने र प्रतिफल प्राप्त गर्ने कुरामा संलग्न जनशक्तिको ठूलो भूमिका रहने मन्त्री अधिकारीको भनाइ छ। अहिले विश्वव्यापी रूपमा नै पाइलटहरूको कमी रहेको सन्दर्भमा आफ्नै देशमा अधिकतम पाइलट उत्पादन गर्ने र यो पेशा आकर्षक हो भन्ने धारणा विस्तार गर्नु सामयिक आवश्यकता रहेको भन्दै मन्त्री अधिकारीले विमानहरूलाई नियमित उडानमा लगाउन व्यवस्थापन बढी सक्रिय रहनुपर्ने बताउनुभयो।

मन्त्री अधिकारीलाई निगमको अवस्थाका बारेमा जानकारी दिनुहुँदै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमसँग पर्याप्त विमान नहँुदा बजार अंशमा तीब्र वृद्धि गर्न नसकेको बताउनुभयो। अहिले अन्तर्राष्ट्रिय अन्य विमान कम्पनीहरूले ९० प्रतिशत बजार अंश ओगटेकोमा निगमले १० प्रतिशतमा मात्र चित्त बुझाउनुपरेको कंसाकारको भनाइ छ।

मलेसियन एयरलाइन्सले आफ्ना ९ वटा गन्तव्यको ग्राउन्ड ह्यान्डलिङको आकस्मिक निरीक्षण गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले प्रदान गरेको ग्राउन्ड ह्याण्डलिङ सेवा उत्कृष्ट रहेको जनाउँदै त्यसका लागि नेपाल वायुसेवा निगमले प्रसंशापत्रसमेत पाएको कंसाकारले मन्त्री अधिकारीलाई जानकारी गराउनुभयो।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगममा सरकारले पुँजी वृद्धि गर्न २० अर्ब रुपियाँ लगानी गर्न माग गर्दै निगम नेपाल सरकारकै संस्था भएकोले यसमा अपनत्व देखाउनुपर्ने बताउनुभयो। उहाँले विगतका विभिन्न काण्डहरूबाट निगमले दायित्व बोकेको २ अर्ब रुपियाँ संक्षिप्त घाटा ‘राइटअप’ गर्न पनि अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्