एकदिवसीय मान्यतापछि चुनौती थपियो



फिरोज राजोपाध्याय, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नेपाली क्रिकेट इतिहासका लागि सबैभन्दा ठूलो उपलब्धि हो। नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि सबैका लागि चुनौती थपिएको छ।

ऐतिहासिक उपलब्धि भनेर खुसी भइरहने अवस्था पनि छैन। अबको ४ वर्ष कसरी यसलाई जोगाइरहने र यसको भरपूर लाभ कसरी पाउने भन्नेमा ध्यानकेन्द्रित हुनुपर्छ। यसका लागि खेलाडीदेखि लिएर नेपाल सरकारसम्मले क्रिकेटलाई आवश्यक चीजहरू उपलब्ध गराउनुपर्ने ठूलो चुनौती बनेको छ। हुनत खेलाडीले आफ्नो काम गरिसकेका छन्।

उनीहरूले नेपाली क्रिकेट र समर्थकको सपना पूरा गरिसकेका छन्। नेपालले एकदिवसीय मान्यता जोगाउन चार कुरामा ध्यान दिनुपर्ने हुन्छ। पहिलो कुरा भनेको पूर्वाधारमा एकदिवसीय अन्तर्राष्ट्रियस्तरको रंगशालाको आवश्यक। घटीमा पनि तीनवटा रंगशाला चाहिन्छ। हाल नेपालको लागि विकल्प कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदान र मूलपानीस्थितको मैदान दुईवटा छन्। शुरुआतमा यी दुई मैदानमा कामचलाउ गर्न सकिन्छ। तर यहाँ अस्ट्रेलिया, इंग्ल्यान्ड, भारतजस्ता टोली खेल्न आउनेमा द्विविधा नै छ। यी सशक्त टोलीलाई ल्याउन नेपालले सुविधासम्पन्न रंगशाला तयार गर्नुपर्छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवालले मौकालाई सदुपयोग गर्नै पर्ने बताए। उनले भने– ‘यो मौका हो। सदुपयोग गर्नुपर्छ। यसका लागि पूर्वाधार संरचनामा जोड दिनुपर्छ।’

अर्को, व्यवस्थापन राम्रो हुनुपर्छ। अस्ट्रेलियालाई यहाँ खेल्न लोभ्याउन सक्ने खालका उच्च अधिकारीको आवश्यक हुन्छ। नेपालमा सुरक्षादेखि लिएर हरेक आवश्यक चीज ठीक छ भनेर विश्वस्त तुल्याउन सक्नुपर्छ। यसका लागि नेपाल क्रिकेट संघ (क्यान)बाट पत्र लेख्दैमा केही हुनेवाला पनि छैन। अहिले क्यान निलम्बनमा छ। सम्बन्धित निकाय नै निस्क्रिय भएको हुँदा नेपालले अन्य टेस्ट खेल्ने राष्ट्रसँग एकदिवसीय खेल्न पनि आईसीसीकै मुख ताक्नुपर्ने हुन्छ।
अर्को, बजेट धेरै चाहिन्छ। नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि अहिलेको जस्तो जे छ त्यसैमा चलाउन पनि स्तरले दिँदैन। स्तर बढेपछि त्यहीअनुसार खेलाडीहरूका लागि आवश्यक कुराहरू दिलाउनुपर्छ।

नेपालले चार वर्षमा बाहिर खेल्न जानुपर्ने हुन्छ र नेपालमै अन्य टोलीलाई खेल्न निमन्त्रणा दिनुपर्ने हुन्छ। यसका लागि बजेट बढ्नु स्वाभाविक नै हो। हुनत एकदिवसीय मान्यतापछि आईसीसीले नेपाललाई वार्षिक ७⁄८ करोड रुपियाँ उपलब्ध गराउनेछ।

यसैगरी घरेलु क्रिकेट संरचना बलियो बनाउनुपर्छ। नेपालले पाएको एकदिवसीय मान्यतापछि नेपाली क्रिकेटमाथि ठूलो दबाब बनेको छ। नेपालमा १२ महिना क्रिकेट हुँदैन। धनगढी प्रिमियर लिग, एभरेस्ट प्रिमियर लिगजस्ता केही प्रतियोगिताले मात्रै नेपाली क्रिकेट खेलाडी व्यस्त हुने गर्छन्। यतिले पुग्दैन, अब एकदिवसीय मान्यता प्राप्त गरेपछि। कमसेकम फुटबल प्रतियोगिताजस्तै वर्षमा ७⁄८ वटा क्रिकेट प्रतियोगिता आयोजना हुनुपर्छ।

यसका लागि विभिन्न जिल्लामा रंगशाला सकेजस्तो बनाउनु पनि नेपाल सरकारको दायित्व भएको छ। नेपालले एकदिवसीय मान्यता प्राप्त गरेपछि कप्तान पारस खड्काले यसलाई जोगाउन आगामी चार वर्षमा राज्यले सहयोग गर्नुपर्ने बताएका छन्। पारसले बताए– ‘हामीले सपना पूरा गर्यौं। एकदिवसीय मान्यता प्राप्त गरियो। अब राज्यको जिम्मा छ। हामीले विश्वकप र टेस्ट खेल्नेसमेत सपना देखेका छौं।’

हुन त एकदिवसीय मान्यता प्राप्त गरेर पनि हङकङ, पपुआ न्युगिनीले अस्ट्रेलिया, भारतजस्ता टोलीसँग खेल्न पाएनन्। यसले यही देखायो कि भौतिक पूर्वाधार, संरचना बलियो नभएमा एकदिवसीय मान्यता पनि चार वर्षमा त्यतिकै खेर जाने उदाहरण दिएको छ।

यसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले यो मौकामा बढीमा बढी एकदिवसीय खेल खेल्नुपर्ने बताए। उनले भने– ‘यो नेपालका लागि मौका आएको छ। लिस्ट ए बाट माथि उठेर एकदिवसीयमा पुगेको छ नेपाल। यसका लागि दुईपक्षीय एकदिवसीय सिरिज खेल्नतिर बढी जोड दिनुपर्छ। सकेसम्म धेरै नै एकदिवसीय खेल खेल्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्