धर्मस्थलीमा खट जात्रा सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंको धर्मस्थलीमा परम्परागत खट जात्रा मंगलबार सकिएको छ। गत चैत्र २ गते पिशाच चतुर्दशीको रातदेखि सो खट जात्रा शुरू भएको हो। जात्राको अन्तिम दिन हिजो महाकाल, गणेशका ३ वटा र पिगः द्यः गरी ५ देवी देवताको खट जात्रा गरेर सम्पन्न भएको हो।

अन्तिम दिन गणेश, इन्द्रायणी (अजिमा), महाकालीको विशेष पूजा गरिएको थियो। इन्द्रायणी रथ मन्दिरमा विसर्जन गर्ने क्रममा मानिसको मृत्यु संस्कारको क्रममा बजाइने नायखी बाजाको धुन बजाएर जात्राको अन्त्य गरिएको थियो। अन्तिम दिन परम्पराअनुसार महाकालीलाई बाटो छेकिएको थियो। शुरूको दिन भने लुकुमहादेव (लुकेर बस्ने महादेव)को पुजा गरिने गरिन्छ।
लिच्छिविकालीन राजा धर्मदेवले बसाएको साविकको धर्मस्थली गाविस बालाजुबाट करिब ४ किलोमिटर उत्तरमा रहेको छ। हाल सो स्थान तारकेश्वर नगरपालिकाअन्र्तगत रहेको छ।

गाउँको ऐतिहासिक पहिचान, धार्मिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेको सो जात्राको अवलोकन गर्न राजधानीका विभिन्न क्षेत्रमा मानिसहरू धर्मस्थली पुगेका थिए। पछिल्लो समय धर्मस्थलीको घोडेजात्राप्रति मानिसहरूको आकर्षण बढ्दो स्थानीयको अनुभव रहेको छ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पूरै बस्ती ध्वस्त भएको सो गाउँमा सांस्कृतिक पुनःजागरण गराउन यस पटक युवायुवतीलाई बाँसुरी बाजा र धिमेको सिकाउने अभियान नै थालिएको स्थानीयबासी माइला महर्जनले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

‘काठमाडौं उपत्यकामा मनाइने अन्य जात्राको तुलनामा यसको प्रचारप्रसार खासै हुन सकेको छैन।’ –गाउँका स्थानीयबासी कान्छा महर्जनले भने।

उनले भने– ‘जात्रा सम्पन्न गर्न तारनगरपालिकाबाट निकै कम रकम विनियोजन गरेकोमा स्थानीयले निकै असन्तुष्टि पोखेका छन्। स्थानीय तहमा धेरै अधिकार आएको सुनेको छु। तर खोई जात्रा संरक्षण गर्न आवश्यक पहल गरेको देखिएन।’
काठमाडौंको मुख्य शहरभन्दा केही किलोमिटरको दूरीमा रहेको धर्मस्थली क्षेत्रमा मनाइने यस जात्राले आफैंमा विशेष अर्थ राख्ने भए पनि प्रचारप्रसारको कमीले गर्दा जात्रा सम्बन्धमा थप पहल हुन नसकेको पनि स्थानीयले गुनासो गरेका छन्। धर्मस्थली जात्रालाई विशेष जात्राको रूपमा नगरपालिकाले संरक्षण गर्न ठोस पहलकदमी गर्नुपर्ने जात्राका गुठीयारहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्