‘सार्क सम्मेलन छिट्टै हुन्छ’



काठमाडौं , (नेस)
उप–राष्ट्रपति नन्दबहादुर पुनले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) शिखर सम्मेलन पाकिस्तानले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

नेपालका लागि पाकिस्तानी राजदूत डा मजार जावेदले आफ्नो मुलुक यही वर्षभित्र सम्मेलन गर्ने तयारीमा रहेको बताएपछि पुनले पाकिस्तानमा छिट्टै सम्मेलन आयोजना हुने विश्वास व्यक्त गर्नु भएको हो। उपराष्ट्रपति पुन र राजदूत जावेद वीच मंगलबार भेटवार्ता भएको हो। पुन उपराष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राजदूत जावेद शुभकामना दिन बहादुर भवन पुग्नु भएको थियो।

गत महिना भएको पाकिस्तानका प्रधानमनमन्त्रीको नेपाल भ्रमणले दुई देशबीचका सम्बन्ध अझै घनिष्ठ बनाएको चर्चा गर्दै उपराष्ट्रपति पुनले दुई देशबीच उच्चस्तरीय भ्रमण जारी राख्नुपर्ने बताउनु भएको बताइएको छ। नेपाल अब आर्थिक समृद्धि, विकास र सामाजिक रूपान्तरणको युगमा प्रवेश गरेको पुनको भनाई थियो। यसै वीच मंगलबार नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले उपराष्ट्रपतिलाई पुनलाई भेटेर बधाई तथा शुभकामना दिनु भएको छ।

केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटना र मानवीय क्षतिप्रति पुनले दुःख व्यक्त गर्नु भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ। विमान दुर्घटनाका क्रममा उद्धार र घाइतेहरूको उपचारमा नेपालले गरेको कार्यको राजदूत साम्सले प्रसंसा गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्