“मन्त्रालयले छुवाछूतविरुद्ध अभियान थाल्छ”



नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री रामबहादुर थापाले जातीय भेदभाव तथा छुवाछूत न्यूनीकरणका लागि राष्ट्र व्यापी अभियान सञ्चालन गर्ने बताउनुभएको छ। उहाँले सबै भन्दा क्रुर र घृणित अपराध जातीय विभेद र छुवाछूत रहेकाले अपराधीलाई कठोर सजाय गर्न गृहमन्त्रालय तयार रहेको बताउनुभएको हो।

५३ औं अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवस (२१ मार्च) का अवसरमा दलित महिला केन्द्र नेपाल तथा अन्तरपार्टी दलित महिला सञ्जालद्धारा मंगलवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले भन्नुभयो ‘कानुन छ तर कानुनले काम गरेको छैन, कानुन कार्यान्वयन र विधिको शासन सञ्चालनका लागि अभियानको जरुरी छ, जातीय विभेदको विरुद्ध दलित समुदायले संघर्ष गर्दै आएको तर उपलब्धी हासिल गर्न नसकिरहेको छैन।’

नवनिर्वाचित दलित समुदायका सांसदलाई बधाई तथा शुभकामना र इभा क्यासल सामाजिक न्याय पुरस्कार वितरण सामारोहमा छुवाछूत विरुद्धको कानुन कार्यान्वयनमा जोड दिइएको छ। नेकपा (एमाले) का प्रतिनिधिसभा सांसद निरा जैरुले संविधान र कानुनमा व्यवस्था भएका दलित हकअधिकारको कार्यान्वयनमा दलित सांसदहरूको साझा पहल हुने बताउनुभयो। उहाँले भन्नुभयो ‘प्रतिनिधिसभामा दलित समुदाय संख्यात्मक हिसावले थोरै भएपनि कमजोर अवस्थामा छैनौं संयुक्त पहल कदमी गरियो भने दलितको लागि प्रभावकारी काम गर्न सक्छौं।’

नेकपा (माओवादी) केन्द्रकी प्रतिनिधिसभा सांसद अञ्जना बिशंखेले केन्द्र सरकारमा एकजना दलित मन्त्री भएपनि सात प्रदेशका सरकारमा प्रतिनिधित्व नहुनु दुःखदायी भएको चर्चा गर्नुभयो। छुवाछूतका घटनाका दोषीलाई कारवाही नगरिनु, प्रभावकारी कानुन कार्यान्वयन नहुनु र दलितलाई अवसरबाट बञ्चित गरिदा परिवर्तनको अनुभूति गर्न नसकिरहेको उहाँले चर्चा गर्नुभयो।

नेपाली काँग्रेसकी प्रतिनिधिसभा सांसद लक्ष्मी परियारले जातीय विभेदका घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकिएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो ‘डेढवर्ष अघि अन्तरजातीय विवाह गरेपछि मारिएका काभ्रेका अजित मिजारको लास अहिले पनि टिचिङ अस्पतालमै छ, उनका परिवारले अझै न्याय पाएका छैनन, यो एउटा उदाहरण हो छुवाछूत गर्नेलाई कानुनी कारवाही गर्न गृहमन्त्री ज्यूको धयानाकर्षण गर्दछु।’

कार्यक्रममा वादी समुदायबाट पहिलो सांसद बन्नुभएकी उमादेवी वादीलाई एकलाख रुपिँयाको इभा क्यासल सामाजिक न्याय पुरस्कार प्रदान गरिएको छ। नेपालका वादी समुदायको हकअधिकार सुनिश्चित गर्न र वादी समुदायलाई संगठित गरी वादी आन्दोलनको सफल नेतृत्व गरेको भन्दै उहाँलाई सो सम्मान गरिएको दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्