यता पनि ध्यान जाओस्



संविधानले नापी विभागको नापनक्सासम्बन्धी कार्य स्थानीय तहबाट सञ्चालन हुने व्यवस्था गरे पनि त्यो अझै हुन सेकेको छैन। जनशक्ति, पर्याप्त साधन–स्रोत तथा उपकरणको अभावका कारण यो प्रक्रिया अझै केही ढिलाइ हुने भएको छ। यसलाई तत्काल सेवाको रूपमा सुचारु गर्न कुनै कदम चाल्न जरुरी रहेको छ।

प्रादेशिक कित्ता नापी स्थानीय तहमा गर्ने प्रक्रिया शुरू गर्ने तयारी भए पनि जनशक्ति, पर्याप्त साधनस्रोत तथा उपकरणको अभाव तथा बजेटका कारण कित्ता नापीको काम हाल विभागले नै गर्दै आएको कुरा अधिकारीहरूले बताएको समाचार आउने गरेका छन्। मुलुक प्रादेशिक संघमा गइसकेको अवस्थामा विभागलाई थप व्यवस्थित गर्ने तथा कानुनी तथा नीतिगत आवश्यक सुधार गर्न आवश्यक देखिन्छ। भूमि स्रोत नक्सा, स्थलरूप नक्सा, विभिन्न प्रशासनिक इकाइका नक्सा तयार गर्ने तथा जनसंख्या तथा सामाजिक आर्थिक एट्लस तयार गर्ने तथा सोसँग सम्बन्धित तथ्यांक कम्प्युटरीकृत गर्ने काम विभागअन्तर्गतको स्थलरूप नापी महाशाखाले गर्दै आएको छ। यसरी देश संघीयतामा गइसकेको अवस्थामा स्थानीय जनतालाई गाउँगाउँमा सेवा दिने कार्य विकेन्द्रीकरण हुन जरुरी छ।

प्रवेश अधिकारी, कठमाडौं
भाइबहिनीलाई शुभकामना
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को अन्तिम परीक्षाका रूपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ। यही चैत ८ गते बिहान ८ बजेदेखि शुरू हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ। विद्यार्थी भाइबहिनी पनि परीक्षा दिने तयारी गरिरहनुभएको छ। एसइई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी हुने परीक्षाका लागि देशभर गरी १ हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

परीक्षामा प्रतिकेन्द्र एकजना केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित हुनेछन्। परीक्षा मर्यादित बनाउन सरकारले राम्रो व्यवस्था गरेको छ। यो सबै भाइबहिनीहरूको परीक्षाको वातावरण बनाउन हो। यसमा भाइबहिनीहरूले पनि राम्रोसँग अध्ययन गरेर सफल हुनुपर्छ। साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ। परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिकालगायत अन्य सामग्री जिल्ला–जिल्लामा पठाउने कार्य पनि सम्पन्न भइसकेको छ।

यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमअनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिने भएकाले भाइबहिनीहरूले त्यसै अनुरूप घनिभूतरूपमा तयारी गर्नुपर्ने देखिन्छ। अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेड वृद्धि परीक्षामा समेत ग्रेड वृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जेम्टेड परीक्षार्थीका रूपमा परीक्षा दिने व्यवस्था गरिएको छ। यसरी परीक्षाको सबै तयारी पूरा भएकोले अब कम्मर कसेर पढेका भाइबहिनीहरूले राम्रोसँग परीक्षा दिएर आफ्नो भविष्य उज्ज्वल बनाउनुपर्छ। सफलताका कामना।

– ललिता शर्मा (पूर्वशिक्षिका)

नक्कली डाक्टरलाई तह लगाऊ
डाक्टरी पेसालाई अत्यन्त संवेदनशील पेसा मानिन्छ। हरेक बिरामीले विश्वास र भरोसा गर्ने यो पेसा विगत केही वर्षदेखि ‘नक्कली डाक्टर’का कारण बदनाम बन्दै गएको छ। डाक्टरलाई अझै पनि भगवान् मानेर श्रद्धा गरेको पाइन्छ। तर, आममानिसले भगवान्सरह विश्वास गरेका डाक्टर नै नक्कली भएको घटनाले समग्र चिकित्सा पेसाप्रति नै मानिसको हेर्ने दृष्टिकोण फरक हुँदै गएको छ। आमजनताको स्वास्थ्यमाथि खेलबाड गर्दैै नक्कली डाक्टरहरूको बिगबिगीका घटना सार्वजनिक भएपछि डाक्टरमाथि नागरिकले गर्ने गरेको विश्वासमाथि संकट पैदा भएको छ। ‘नक्कली डाक्टर’को बिगबिगी भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षअघि नक्कली प्रमाणपत्रधारी डाक्टरविरुद्ध सञ्चालन गरेको अप्रेसनमा १५ जनालाई पक्राउ गरेको थियो। विशेष अदालतले चितवनमा कार्यक्षेत्र बनाएका दुई ‘नक्कली डाक्टर’लाई पक्राउ गरी ६ महिना कैद र १० हजार रुपियाँ जरिवाना सुनाएको छ। नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा ०७२ फागुनमा पक्राउ परेका डा. सुनिल आचार्य र डा. रजनी अग्रवाललाई विशेष अदालतले डेढ वर्षपछि मुद्दाको सुनुवाइ गरेको छ।

पछिल्लो समय देशभर डाक्टरको लापरबाहीका घटना बढ्दै गएका छन्। डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएपछि बेलाबखत अस्पताल तनावग्रस्त हुँदै आएको छ। सक्कली डाक्टरको भेषमा ‘नक्कली डाक्टर’को गिरोह सक्रिय भइरहेको तथ्य विभिन्न समयमा पक्राउ परेकाहरूले प्रमाणित गरेका छन्। केही समयअघि राजधानीमा सञ्चालित अस्पताल र क्लिनिकहरूमा डाक्टर भनेर विदेशी नागरिकले काम गरिरहेको तथ्य सार्वजनिक भएको थियो। ‘नक्कली डाक्टर’बाट बिरामीको उपचार हुनु स्वास्थ्यप्रति नै गम्भीर खेलबाड हो। प्रहरीले बेलाबेलामा ‘नक्कली डाक्टर’लाई पक्राउ गर्दै आएको छ।

सरकारले पर्याप्त ध्यान नदिँदा दैनिकरूपमा अवैध काम गर्नेहरूको संख्या बढिरहेको छ। नागरिकको स्वास्थ्यसँग जोडिएको अस्पताल, क्लिनिक र औषधि पसलहरूमा नियमितरूपमा अनुगमन नहुँदा लापरबाहीका घटना बढोत्तरी भइरहेका छन्। अनुगमनका लागि सरकारले आफ्नो संरचना बनाएको छ। तर, अनुगमन गर्ने निकाय बेखबर बन्दा गलत काम गर्नेहरूले प्रश्रय पाइरहेका छन्।

‘नक्कली डाक्टर’बाट बिरामीको उपचार गरिँदा नतिजा कस्तो आउँछ भन्ने सहजै अनुमान गर्न सकिन्छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई व्यापार गर्ने थलोका रूपमा प्रयोग गर्दा विकृति बढ्दै गएको हो। औषधि पसलहरूमा तोकिएको मूल्यभन्दा बढी मूल्य लिएर औषधि बिक्री वितरण भइरहँदा अझैसम्म सरोकारवाला निकायले गम्भीर अनुसन्धान गर्न सकेको छैन। स्वास्थ्यसँग सम्बन्धित निकायबाट नागरिकहरू दैनिकरूपमा ठगिँदै आए पनि औषधि पसलहरूमा वर्षको एक–दुईपटक मात्र अनुगमन गरेर सरकारले झारा टार्ने काम गर्दै आएको छ।

केही वर्षयता चिकित्सा सेवा महँगो बन्दै गएको छ। सर्वसाधारण स्वास्थ्य उपचार गराउन नसक्ने अवस्थामा पुगेका छन्। ‘नक्कली डाक्टर’को अनुसन्धान गरेर कानुनी दायरामा ल्याउन सकिए मात्रै सर्वसाधारणले स्तरीय स्वास्थ्य सेवा पाउन सक्छन्। सरकारले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्नका लागि नियमितरूपमा अनुगमन गरी दोषीमाथि कारबाही गर्नुपर्छ। देशभरका अस्पताल एवम् स्वास्थ्य संस्थामा रहेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने ‘नक्कली डाक्टर’हरूको बिगबिगी तोड्न सीआईबीले ‘अप्रेसन क्वाक’लाई तीव्र बनाउनु जरुरी देखिन्छ।
– हरिराज नेपाल, शंखमूल, काठमाडौं

प्रतिक्रिया दिनुहोस्