लगानी भित्त्याउन ओबीओआर इच्छुक



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासँग नेपाल भ्रमणमा आएको ओबीओआर व्यापार तथा लगानी सम्बन्धी चिनियाँ प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। ओबीओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी प्लेटफर्मका संस्थापक सु याको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ताका क्रममा नेपालको आर्थिक तथा व्यावसायिक विकासमा ओबीओआरका तर्फबाट सहयोग गर्न आफूहरू तत्पर रहेको प्रतिबद्धता जनाएको छ।

ओबीओआरले खासगरी पूर्वाधार विकास, व्यावसायिक कृषि, ऊर्जा, पर्यटन, अन्तर्राष्ट्रिय व्यापार तथा लगानी क्षेत्रमा क्रियाशील रहेको जानकारी गराउंँदै प्रतिनिधिमण्डलले नेपालका यी क्षेत्रमा ओबीओआरमार्फत् लगानी भित्र्याउन आफूहरू इच्छुक रहेको धारणा समेत सो अवसरमा राख्यो। नेपालमा खासगरी उद्यमशीलता विकास, प्रविधि हस्तान्तरण, काठमाडौबाट चीनका प्रमुख शहरमा सिधा हवाई सम्पर्क विस्तार, नेपालबाट चीनमा निर्यात हुने वस्तुको पहिचानलगायतमा छलफल भएको सो बैठकमा नेपालमा सहकार्यका क्षेत्रहरू पहिचान गर्न छिट्टै अर्को बैठकको प्रस्तावसमेत चिनियाँ पक्षबाट सो अवसरमा राखियो। सो अवसरमा महासंघका अध्यक्ष राणाले ओबीओआरमार्फत नेपालको पूर्वाधार विकास, ऊर्जा, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी ल्याउन प्रतिनिधिमण्डल समक्ष आग्रह गर्नुभयो।

नेपाल चीनलगायत ओबीओआर सदस्य राष्ट्रबीच यातायात संयन्त्र मार्फत आपसी सम्पर्क विस्तारमा अध्यक्ष राणाले जोड दिनुभयो। नेपालमा लगानीको वातावरण निकै राम्रो रहेकाले नेपाल समेत सदस्य रहेको ओबीओआरमार्फत नेपालको समृद्धिको अभियानमा सहकार्य गर्न प्रतिनिधिमण्डल समक्ष अध्यक्ष राणाले अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्