बलेवामा २६ वर्षपछि नियमित उडान



सिर्जना पन्त, बागलुङ

२६ वर्षदेखि बन्द रहेको बागलुङको बलेवा विमानस्थल अब पुनः सञ्चालनमा आउने भएको छ। सोमबार विहान ११ बजे पोखराबाट उडेको तारा एयरको १८ सिट क्षमताको ९ एन एकेएल विमान ८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण भएको थियो। तारा एयरसँगै चैत १५ गतेबाट नेपाल एयरलाइन्स पनि सञ्चालनमा आउने भएको छ। प्रत्येक हप्ताको आइतबार तारा एयर र बिहीबार नेपाल एयरलाइन्सले उडान गर्ने गरी सम्झौता भएको छ।

पोखराबााट नागरिक उड्डयान प्राधिकरणका कर्मचारीसहित पाइलट प्रभाकरप्रसाद घिमिरे, सन्तोष शाह र सञ्जिव श्रेष्ठ बलेवा विमानस्थलमा अवतरण गरेका हुन। १८ सिट क्षमता रहेको तारा एयरलाइन्सको ९ एन एकेएल जहाज १० जना यात्रुसहित बलेवा विमानस्थलमा अवतरण गर्दा स्थानीयले फुलमालाले स्वागत गरेका थिए। पाइलट घिमिरेले काठमाडौंदेखि बलेवा विमानस्थलमा आइपुग्न ४५ मिनेट समय लाग्ने भन्दै तत्काल उडान भर्नको लागि विमानस्थलमा कुनै समस्या नरहेको समेत बताउनुभयो।

२०१८ सालमा निर्माण भएपछि नियमित सञ्चालन भएको विमानस्थल २०४८ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि बन्द भएको थियो। यसबीचमा पनि पटक–पटक सञ्चालनको पहल र प्रयास भए पनि सफल हुन सकेको थिएन। यद्यपि, बागलुङ नगरपालिकाको विशेष पहलमा यात्रु अभाव हुँदाको खर्च बेहोर्ने सुनिश्चितता सहितको निर्णय गरी विमानस्थल सञ्चालन भएको छ। जसको लागि तत्काल नगरपालिकाले ४० लाख बजेट समेत विनियोजन गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले बताउनुभयो। विमानस्थलमा २६ वर्षपछि विमान आउँदा स्थानीय खुसी भएका छन्। विमान सञ्चालन आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी, पर्वत र बागलुङ लाभान्वित हुनेछन् भने कालीगण्डकी करिडोरको प्रयोग गर्दै गुल्मीबासीले समेत सेवा लिन मिल्ने बताइएको छ।

विमानस्थल सञ्चालनमा आउनु सुखद् पक्ष भए पनि विमानस्थलदेखि सदरमुकामसम्मको कच्ची सडकले सेवाग्राहीलाई समस्या पर्न सक्ने स्थानीयको भनाइ छ। जिल्ला ‘सदरमुकाम जोड्नो ११ किलोमिटर बाटो पक्की भने छैन, स्थानीय ईश्वरीकुमारी श्रेष्ठले भन्नुभयो–‘छिट्टै सडक कालोपत्रे गर्न नसक्नेहो भने विमानस्थल लामो समय सञ्चालन गर्न सकिँदैन। चैत ९ गतेदेखि हप्ताको दुईपटक तारा एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान भर्नेछन्। तत्कालको लागि काठमाडौंदेखि बलेवासम्मको भाडा न्युनतम ५ हजारदेखि ६ हजार ५ सयसम्म हुनसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्