आँगनमा दिनु हुन्न बास गायिकाको निधन



लोकगीतकी रानीकी रूपमा ख्याति आर्जन गरेकी गायिका कमला श्रेष्ठको सोमबार निधन भएको छ। कमलाको उपचारको क्रममा बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा १ बजेर ४० मिनेटमा निधन भएको उनको छोरा विनायकले नेपाल समाचारपत्रलाई जानकारी गराए।

उनलाई मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगको समस्या थियो भने स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान ३ बजे अस्पताल लगिएको थियो। ‘जेठो दाइ क्यानडामा हुनुहुन्छ बुधबार मात्र नेपाल आउनुहुन्छ। त्यसपछि मात्र अन्तिम संस्कार गरिनेछ’, विनायकले भने– ‘अहिले उहाँको पार्थिव शरीर टिचिङ अस्पतालमा राखिएको छ।’

राष्ट्रिय नाचघरको ३८ वर्षे सेवाबाट २०६३ सालमा रिटायर्ड चावहिल निवासी उनी स्वास्थ्य समस्याका कारण गायनबाट टाढा भएकी थिइन्। शुरुमा नृत्य कलाकारका रूपमा सक्रिय उनी पछि राष्ट्रिय नाचघरमा गायिकाका रूपमा प्रवेश गरेकी थिइन्।

कुनै बेला लोकगीतकी रानी भनिने ६९ वर्षीया उनको परदेशी बाबु आँगनमा दिनु हुन्न बास, सल्लाई हो जोवन कल्लाई हो, सहिदिन्छु कुट बरु, सरर मलेवा, शिरफूल लाएर जस्ता गीतहरू सदावहार गीतका रूपमा रहेका छन्। उनले स्वर सम्राट, नारायण गोपालसँग ईश्वर तैंले रचेर फेरि बोलको गीत गाएकी थिइन् भने शिवशंकर, नातिकाजी, गणेश रसिक, गोपाल योञ्जन, शम्भु राईलगायतका गायकहरूसँग नेपाली, नेवारी, भोजपुरी गीतहरू गाएकी थिइन्। उनको परिवारमा ३ छोरा, २ बुहारी र ४ नातीनातीनी रहेका छन्।

‘केही समयअघि रमेश ताम्राकारको निधन हँुदा पुष्पगुच्छा चढाउन आउनुभएको थियो। त्यो बेला सिरियस देखिनुहुन्नथ्यो’, कलाकार प्रभाकर शर्माले नेपाल समाचारपत्रसँग भने– ‘उहाँको निधनले नेपाली लोकगीतको क्षेत्रमा ठूलो क्षति भएको छ।’ प्रथम नायिका भुवन चन्दले कमलालाई छोरी मानेको सम्झना गर्दै भनिन्– ‘कमला र मसँगै गीत गाउँथ्यौं। सानै उमेरदेखि गीत गाउने उनी र म सँगै लामो समयसम्म नाचघरमा काम गर्यौं। ऊ मेरी छोरी जस्तै थिइन्।’

प्रतिक्रिया दिनुहोस्