राजनीतिभन्दा समाजसेवा उच्च



नेपाल समाचारपत्र
लमजुङ । ‘राजनीतिभन्दा समाजसेवा उच्च हुने’ एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । लमजुङका वरिष्ठ समाजसेवी लेखनाथ अधिकारीले पाँचौ स्मृति दिवसका वक्ताहरूले त्यस्तो बताएका हुन् ।

लेखनाथ अधिकारी तत्कालीन जिल्ला पञ्चायतको सदस्य हुँदै जिल्ला सभापति अनि राष्ट्रिय पञ्चायत सदस्य एवम् त्यस ताकाको विकास समितिको सभापति समेत हुनुभयो । उहाँ प्रजातन्त्रवादी हुनुहुन्थ्यो ।

उहाँले ती पदमा कार्य गर्दा पनि समाजसेवा र जनताको हितमा आफूलाई उभ्याउनु भयो, निरङ्कुश पञ्चायतको कहिल्यै समर्थन गर्नु भएन । तर पनि जीवनका अन्तिम क्षणमा त्यसबाट सन्तुष्टी नभएपछि समाजसेवाकै एक उदाहरणीय कार्य अनाथ बालबालिका आश्रम सञ्चालन गर्न पुग्नु भयो । त्यसकै उपज हो– यो अनाथ बाल केन्द्र ।

मुठी दानबाट सञ्चालन गर्न थालिएको उक्त आश्रमको स्थायित्वका लागि एक करोडको अक्षयकोष बनाउने सपना उहाँले देख्नु भयो र त्यसको सार्थकताका लागि आफ्नो अंशभागबाट १० लाख रुपैयाँ उक्त कोषमा दान गर्नु भयो, यी कार्यले उहाँलाई अमर बनाएको छ । स्मृति दिवस कार्यक्रमका वक्ताहरूले बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आफूले स्वर्गीय अधिकारीलाई सानैदेखि चिनेको भन्दै उहाँको राजनीतिक र सामाजिक पृष्टभूमिमा प्रकाश पार्नु भयो । उहाँले राजनीतिभन्दा समाजसेवा उच्च रहेको उहाँको ठम्याइँ रह्यो र यो बाल केन्द्रको जन्म भएको हो भन्नुभयो ।

उहाँले अब राजनीतिक मुद्दा समाप्त भएको, विकास र समृद्धिको यात्रा थालनी भएको छ, सामाजिक काम गर्नेहरू र यस्ता संस्थाको नेतृत्वमा बस्नेहरूले उदारतापूर्वक सबैसँग समन्वय गरी अघि बढ्न सक्नु पर्छ त्यो आजको आवश्यकता हो भन्नुभयो ।

आदर्श महिला तथा बालविकास केन्द्रको आयोजनामा सोही केन्द्रको प्रांगणमा आयोजना भएको कार्यक्रम केन्द्रका अध्यक्ष सानुमाया गुरुङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उहाँले केन्द्रको अक्षयकोषका लागि ४० लाख ११ हजार १ सय ११ रुपैयाँको चेक केन्द्रका कोषाध्यक्ष धनुदेवी पियालाई प्रदान गर्नु भयो ।

उक्त अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँ सहितले मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा लेखनाथ अधिकारीका जेष्ठ सुपुत्र विनोद अधिकारीले स्वागत तथा केन्द्रका प्रथम उपाध्यक्ष हरिप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

२०६० सालका ७ जना द्वन्द्व पीडित बालबालिकालाई लिएर थालनी गरिएको बालकेन्द्रमा हाल ५ जना बालिका सहित १३ जना बालबालिका रहेको केन्द्रका सचिव हुमा गुरुङले बताउनु भयो । उहाँका अनुसार यसअघि १६ जनालाई परिवारमा पुनःस्थापना गरिएको छ । तीमध्ये एकजना केशमान विकले ओभरसियर, प्रतिक्षा केसीले डिप्लोमा अध्ययन गरिरहेका छन् भने शान्ता विकले कक्षा– १२ उतीर्ण गरिसकेकी छन् ।

एक करोड अक्षयकोष बनाउने केन्द्रको अभियानमा दान दिने दाताको संख्या ६४ पुगेको छ भने कोषको रकम ७६ लाख पुगेको छ, त्यसैगरी दैनिक रु १ दान गर्नेहरूको संख्या १५५ रहेको पनि सचिव गुरुङले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्