प्रहरीको सम्मेलनः बलात्कार घटनाका ६ सहित ९ आरोपीत सार्वजनिक



शिवहरीप्रसाद भट्टराई, राजविराज ।
बलात्कार, मोटरसाईकल चोरी र लागु औषध कारोवारका ९ जना आरोपीतलाई पक्राउ गरी सप्तरी प्रहरीले आईतवार सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएका मध्ये ६ जना वालात्कार घटनाका र अन्य मोटरसाईकल चोरी तथा लागु औषध कारवारमा संलग्न छन् । वलात्कार आरोपमा शम्भुनाथ ५ का गेनाई राम, ३ का एटलान्टिक चौधरी, अजय चौधरी, विष्णुपुर गाउँपालिका ७ का जिवछ राम, इसराईल मियाँ, सिरहा भगवानपुर गाउँपालिका १ का वैजनाथ दास र वाँकेको राप्ती सोनारी गाउँपालिका ५ का खेमराज वैस्य छन् ।

ईसराईल मियाँलाई शनिवार राती भारतीय प्रहरीको सहयोगमा भारतको अन्धरामण्ठ थाना महथौर ग्राम पञ्चायतवाट पक्राउ गरिएको छ । उनलाई आईतवार विहानै नेपाल ल्याईएको हो ।

फागुन ११ गते विष्णुपुर गाउँपालिका ७ की २२ वर्षिया महिलालाई वलात्कार गरी फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालयका सई जयप्रकाश साहको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय प्रहरीको मद्दत लिएर पक्राउ गरेको एसपी मुकेश सिंहले जानकारी दिए ।

अन्य आरोपीतहरु मध्ये कसैलाई घटनास्थल र कसैलाई घर–छिमेकवाटै पक्राउ गरिएको सिंहले जानकारी दिए । उनका अनुसार शम्भुनाथ, छिन्नमस्ता र विष्णुपुर गाउँपालिकामा भएका वलात्कारका घटनामा उनीहरुको संलग्नता छ ।

पत्रकार सम्मेलनमा लागु औषध कारोवारमा संलग्न धनुषाको जनकपुर नगरपालिका १३ का मिथिलेश ठाकुर र मोटरसाईकल चोरीको अभियोगमा पक्राउ परेका विष्णुपुर गाउँपालिका ४ का प्रमेश्वर यादवलाई पनि सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्