हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम शुरू



नेपाल समाचारपत्र
काठमाडौं
बलाधिकृत रथी पूर्णचन्द्र थापाले नगरकोटस्थित नेपाली सैनिक बार कलेजमा सञ्चालन हुने सिसं ५ हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिमको एक समारोहबीच नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटरमा शुभारम्भ गर्नुभएको छ। उक्त तालिममा २९ जना महासेनानी शिक्षार्थीको सहभागिता रहेको छ।

उक्त कार्यक्रममा बलाधिकृत रथी थापाले तालिमका सहभागीहरूलाई सम्बोधन गर्दै यस किसिमका तालिमले पृतना, आर्मी तथा बहुराष्ट्रिय वातावरणमा कमान्ड तथा स्टाफ नियुक्तिमा काम गर्न सक्ने जेष्ठ अधिकृतहरू तयार पार्नुका साथै विषम परिस्थितिको मूल्यांकन गरी जटिल अपरेसनल वातावरणमा समेत प्रभावकारी निर्णय हासिल गर्न सक्षम हुने बताउनुभयो।

त्यसै गरी, जटिल सुरक्षा वातावरणलाई ख्याल गर्दै विशिष्ट भू–राजनीति तथा अन्य तत्वहरूले पार्न सक्ने सुरक्षा चुनौतीको महत्त्वपूर्ण विश्लेषणका लागि उच्चस्तरको परिस्थितिजन्य मूल्यांकन क्षमता र पेसागत चुस्तताका साथमा उच्च सैनिक संस्कार र मान्यताको थप विकासका निमित्त यस किसिमको तालिम फलदायी हुने विश्वाससमेत व्यक्त गर्नुभयो। कार्यक्रमको प्रारम्भमा तालिमका प्रमुख शिक्षक उपरथी श्री शशिचन्द्रबहादुर सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्