वारपारको अवस्थामा अखबार



कपिल काफ्ले

श्न अखबारको मात्र नभएर रेडियो, टेलिभिजन र अनलाइन मिडियाको पनि हो। ‘अनलाइनका कारण अखबारको बिक्री घटेको हो ?’ मिडिया क्षेत्रमा यो प्रश्न निकै उठ्न थालेको छ। कतिले यस प्रश्नलाई अलि व्यापक बनाएर पनि उठाउँछन्, ‘नयाँ मिडियाका कारण परम्परागत मिडियामा प्रतिकूल प्रभाव परेको हो ?’ प्रश्न जसरी गरिए पनि सन्दर्भ अखबार, रेडियो, टेलिभिजनजस्ता परम्परागत सञ्चारमाध्यम र अनलाइनजस्ता नयाँ मिडियाको प्रभावमा केन्द्रित हुनआउँछ। युरोप, अमेरिकाजस्ता विकसित मुलुकमा ‘नयाँ मिडियाकै कारण’ बन्द हुने परम्परागत सञ्चारमाध्यमको सूची बढिरहेको अवस्थामा यो प्रश्न अस्वाभाविक पनि होइन।
यी प्रश्नको जवाफका लागि केवल परम्परागत सञ्चारमाध्यममा केन्द्रित भएर हुँदैन, अनलाइन पत्रकारिता जो नयाँ मिडियाको प्रभावशाली माध्यम हो, यसका बारेमा पनि अनुगमन गरिनुपर्छ। हालै, भारतका प्रधानन्यायाधीश दीपक मिश्राले बोलेका पनि छन्, ‘प्रेस स्वतन्त्रताको छाता ओढेर छाडातन्त्र चलाउने मिडिया र पत्रकारलाई समाजले स्वीकार गर्न सक्तैन।’ मिश्राले आधारहीन विषयमा समाचार बनाउने पत्रकारको आलोचना गरेका छन्। प्रेस स्वतन्त्रताको नाममा सञ्चारमाध्यमलाई मनगढन्ते कुरा लेख्ने अधिकार नभएको भन्दै उनले चेतावनी दिएका छन्।

यही चैत २ मा प्रकाशित समाचारअनुसार उनले पत्रकारको रिपोर्टमाथि टिप्पणी गर्दै ‘वास्तविकता नै नबुझी, घटनास्थल वा सरोकारवालासँग सम्पर्क नै नगरी घरमै बसेर जे पनि लेख्न पाइन्छ ?’ भनेर प्रश्न गरेका छन्। सन्दर्भ द वायर अनलाइनकी सम्पादक रोहिणी सिंहको मुद्दासँग सम्बन्धित छ। अनलाइनले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि गुजरातका जय शाह नामका व्यवसायीको कारोबार १६ हजार गुणा बढेको भनेर समाचार बनाएको थियो। जयले आपराधिक मानहानी भयो भनेर द वायरमाथि मुद्दा हालेका थिए भने सम्पादक सिंहले पनि मुद्दा खारेज गरिपाऊँ भनेर रिट दिएकी थिइन्। ५० हजार रुपियाँको जयको कारोबार एक वर्षमै बढेर ८० करोड पुगेको द वायरको दाबी थियो। दाबीलाई जयले मात्र होइन स्वयम् प्रधानन्यायाधीशले पनि छाडातन्तको उदाहरण र रातारात चर्चित हुनका लागि गरिएको आधारहीन समाचार
भनेर टिप्पणी गरिदिए।

नेपालमा पनि यस्ता उदाहरण धेरै पाइन्छन्। पछिल्लो एक उदाहरण हेरौं। राजधानीबाट प्रकाशित एक दैनिकले आफ्ना लगानीकर्ताले राजधानीको महँगो क्षेत्रमा रहेको जग्गा सस्तोमा किन्न पाउनुपर्छ भनेर अग्रपृष्ठमै हप्तौंसम्म समाचार, टिप्पणी र विचार छापेर गलत पैरवी गर्यो। सस्तोमा जग्गा नदिने अर्को मिडियाका प्रमुखलाई प्रशासनले कारबाही चलाउनुपर्छ भनेर दबाब दियो। त्यही अखबारले प्रधानन्यायाधीशको उमेरसँग सम्बन्धित उठाउनै पर्ने एक प्रसंगलाई त उठायो, तर त्यसलाई मोलतोल र निजी प्रतिष्ठाको विषय बनायो। आमनागरिकका लागि आवश्यक सार्वजनिक महत्वको विषयलाई निजी प्रतिष्ठाको विषय बनाउनु घमण्डी चरित्रको प्रदर्शन थियो। वास्तवमा अखबारले विगतमा प्रेस स्वतन्त्रताको आडमा निजी एजेन्डाहरूलाई सार्वजनिक मुद्दासरह प्राथमिकता दिने र अभिमान प्रदर्शन गर्ने नगरेको भए प्रधानन्यायाधीशसँगको विवादमा उसले ठूलो जनसमर्थन पाउने थियो।

यो मिडियाको शक्ति र प्रेस स्वतन्त्रताको दुरूपयोगको गम्भीर उदाहरण हो। वास्तवमा नयाँ मिडियाको प्रभावका कारण अखबार, टिभी र रेडियोको बजार घटेको नभई यस्तै अभिमानी चरित्रले उनीहरूलाई जनताले छोड्दै आएको टिप्पणी पनि मिडिया विज्ञहरूको छ। बिक्रीका लागि राखिएको वस्तु आज खराब भनेर समाचार बनाउने, तर भोलि विज्ञापन पाएपछि, त्यही वस्तुलाई निकै राम्रो भनेर समाचार लेख्ने, विज्ञापनदाताले उत्पादन गरेको तोरीको तेल अखाद्य भनेर नापतौल तथा गुणस्तर विभागले प्रमाणित गरे पनि समाचार नछाप्ने, कर छल्ने व्यापारीसँग कमिसनका लागि दलाली गर्ने, घूसिया प्रशासकलाई बचाउन समाचारको दलाली गर्ने काम हामीकहाँ निरन्तर चलिआएको छ। थप विडम्बना के भने, यस्तै कार्य गर्ने सञ्चारमाध्यम र पत्रकार प्रेस स्वतन्त्रताको कानुनी प्रावधानको आडमा दण्डहीनताको मजा लिइरहेका छन्। नेपालको संविधान २०७२ का धारा १७, १९ र २७ लाई सुरक्षाकवच बनाएर मिडियाले आमनागरिकभन्दा आफूलाई विशेष ठान्ने जुन व्यवहार देखाउने गरेको छ, त्यसलाई सामन्ती समाजमा शासकले नागरिकसँग गर्ने व्यवहारका रूपमा जनताले लिइरहेका छन्। यही कारण हो, मिडिया र सञ्चारकर्मीहरू आमजनताबाट टाढिएका छन्। यसरी टाढिएका नागरिकका लागि अहिले अभिव्यक्तिको माध्यम फेला परेको छ– सामाजिक सञ्जाल। यसरी हेर्दा पनि परम्परागत मिडियाको बजार घट्नुको पहिलो कारण नयाँ मिडिया नभएर उनीहरूकै अभिजात्य प्रवृत्ति नै रहेको पुष्टि हुन्छ।

एकातिर परम्परागत मिडियाको सामन्ती चरित्रमा वृद्धि हुँदै जानु, अर्कातिर नयाँ मिडियाका रूपमा परिचित सामाजिक सञ्जालको लोकप्रियताले आकाश छुनु रमाइलो संयोग हो। आमनागरिकले अभिव्यक्तिको सहज माध्यम सामाजिक सञ्जाल पाएका कारण असहज अखबार, टिभी र रेडियोलाई त्याग गर्नु अस्वाभाविक होइन। सामाजिक सञ्जालको प्रभावशाली माध्यम फेसबुक नेपालमा सर्वाधिक लोकप्रिय छ। त्यसो त विश्वमै यो सर्वाधिक रुचाइएको सामाजिक सञ्जाल हो। यसका मालिक मार्क जुकेरवर्गको दाबी छ, लोकतन्त्रको समृद्धिमा योगदान पुर्याउँदै, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको जनअधिकारलाई संरक्षण र प्रवद्र्धन गर्दै फेसबुकले २ अर्बभन्दा बढी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गरिरहेको छ।

जति बढी विकसित मुलुक, जति बढी इन्टरनेटको सहजता, उति नै परम्परागत सञ्चारमाध्यमको प्रभावमा कमी– यो आजको विश्वव्यापी यथार्थ हो। बेलायतमा यही कारणले २०१५ यता मात्र ४६ अखबार ढले। यसको तुलनामा नयाँ आउने अखबारको संख्या भने न्यून छ– केवल २९ नयाँ अखबारले यस अवधिमा आफ्नो यात्रा शुरु गरेका छन्। संख्याको सन्तुलन खोज्ने हो भने १७ अंक तल झरेको छ। प्रेस गजेटका अनुसार २००५ देखि नै अखबारको व्यापारमा न्यूनता बढेको छ, यसबीच बेलायतका १९८ अखबार नोक्सानमा गएका छन्। बेलायत २०१५ सम्म १ हजार १२२ अखबारको मुलुक रहेको मिडिया रिफम कोलिसनको अध्ययनले देखाएको छ। एक दशकमा कुल आधा परिमाणमा पत्रकारहरू पेसागत विस्थापित भएको पनि यही अध्ययनले खुलासा गरेको छ। यसबीच खुलेका नयाँ अखबार खुल्नासाथ
बन्द भएको मार्मिक अभिलेख पनि देख्न सकिन्छ।

अमेरिकामा पनि यही हाल छ। बन्द गर्नका दुःखले चलिरहेका केही छापाहरू व्यापारिक आर्जनका लागि अनलाइन माध्यमतिर सरेका छन्। वाल स्ट्रिट जर्नलजस्तो प्रभावशाली अखबारले पनि गतवर्षदेखि एसिया–युरोपमा छापा स्वरूपको अन्त्य गरेको छ। टाइम्स, न्यूजविकहरूको छापा स्वरूप खोज्नेले पहिला नै पैसा तिरेर ग्राहक बन्नुपर्छ, ‘खै साहुजी टाइम्स पत्रिका पाऊँ त’ भनेर आदेश दिनेलाई साहुले तलदेखि माथिसम्मको अनौठो दृष्टि मात्र पाउँछ। अनुसन्धानकर्ताहरूका अनुसार अमेरिकामा २००४ यता एक तिहाइ अखबारहरू प्रस्टरूपले प्रभावित देखिएका छन्।

यसको एकमात्र कारण उनीहरूले आमनागरिकलाई सहज, सुलभ र अन्तरक्रियात्मक मिडिया माध्यम प्रदान गर्न नसक्नु नै हो। अब मानिसका घर–घरमा टेलिभिजन हेर्ने र रेडियो सुन्ने अभ्यास पनि निकै घटेको छ, अनलाइन र युट्युब हातैमा भएपछि अरु के चाहियो

यस जटिल अवस्थालाई सम्बोधन गर्ने हो भने अखबारले व्यापारिक लाभका लागि अनलाइन भर्सनलाई बलियो बनाउने, श्रव्य–दृश्य अभिव्यक्ति दिने र छापा भर्सनमा समेत ‘पाठक प्रतिक्रिया। टिप्पणी’ जस्ता ठाउँहरू बढाउनुपर्छ। किनभने अर्को २० वर्षसम्म पनि छापामै लेखिएको सामग्री पढेर आनन्द उठाउने पाठकहरू जीवितै रहनेछन्। मिडिया व्यवसायीले सामन्ती र शासकीय चरित्रलाई भने तत्काल त्याग्नै पर्छ, किनभने ‘फ्री प्रेस’ जनतालाई ‘प्रेसर’ दिनका लागि होइन, अभिव्यक्तिको अवसर प्रदान गर्नका लागि हो।

प्रतिक्रिया दिनुहोस्