दुईघण्टे कार्यक्रमलाई साढे १५ लाख !



भगवती तिमिल्सिना, काठमाडौं
राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुई घण्टाको कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपियाँको बजेट छुट्याएको छ। अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा सो रकम छुट्याएको हो।

उक्त कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल बुकिङ गरिएको छ। त्यसबापत भ्याटबाहेक १ लाख ८० हजार, खाजाबापत २ लाख ७५ हजार, ब्यानर⁄नारा⁄झण्डा तथा ब्रोसरका लागि २ लाख, नारा लेखिएको भेस्ट (गन्जी) बनाउन २ लाख ५० हजार र पत्रकारलाई भत्ताका लागि ७५ हजार रुपियाँ छुट्याएको छ।

कार्यक्रमको कार्ड वितरण गर्ने कर्मचारीलाई खाजाबापत ५० हजार, कार्यक्रम व्यवस्थापनमा खटिने कर्मचारीलाई ५० हजार, वार्षिक प्रतिवेदन छपाउन १ लाख ५० हजार र भित्ते फ्लेक्स (ब्याक ड्रब) बनाउन ६० हजार र पत्रपत्रिकाका लागि १ लाख ५० हजार छुट्याएको छ। यसका साथै अतिथिका लागि खादा, माला र बुकीको २५ हजार र ब्याचका लागि ३ हजार रुपियाँ छुट्टाएको छ।

यही २० चैतमा सेवानिवृत्त हुँदै गरेका केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीको निर्देशनमा लेखा अधिकृत नारायणप्रसाद दाहाल, तथ्यांक अधिकृत अनिल थापा र शाखा अधिकृत रीता खतिवडाले गोप्यरूपमा सो बजेट सिलिङ तयार पारेको बुझिएको छ।

क्षयरोग केन्द्रले १७ वटा शीर्षक बनाई तय गरेको बजेट आवश्यकताभन्दा आधा नै बढी भएको समेत केन्द्र स्रोतको दाबी छ। विगतलाई हेर्दा पनि अन्तर्राष्ट्रिय कार्यक्रम भएकाले विश्व क्षयरोग दिवसको खर्च नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र सेभ द चिल्ड्रेनलगायतका निकायले समेत व्यवस्था गर्दै आएको क्षयरोग केन्द्रका एक कर्मचारीले नेपाल समाचारपत्रलाई जानकारी गराए।

हरेक दिन बिरामीको रोदनको सम्बोधन गर्नुपर्ने निकायले एकदिने सो दिवसका लागि अनावश्यक रकम छुट्याएकोमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नै विरोध गरेका छन्। स्वास्थ्य मन्त्रालयका लेखा शाखाका एक कर्मचारीले क्षयरोग केन्द्रले बिरामीलाई औषधि खुवाउने र उपचारलाई सहज बनाउनुपर्ने रकम कार्यक्रममा खर्च गर्नु अस्वभाविक भएको टिप्पणी गरेका छन्।

स्मरणीय छ, गतवर्ष यसै दिवस मनाउन केन्द्रकै सभाहल ठिमीमा ३ लाख रुपियाँ मात्र खर्च भएको केन्द्रका एक कर्मचारीले दाबी गरे। यस वर्षको मूल नारा ‘क्षयरोगमुक्त विश्वका लागि नेताको आवश्यकता’ भन्ने रहेको छ।

प्रतिक्रिया दिनुहोस्