‘नेपाललाई मगन्ते रहित बनाउँछौं’



काठमाडौं, (नेस)
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा परेर निर्णय नलिने बताउनुभएको छ। उहाँले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकाले यसका लागि नीति निर्माण तहमा बस्नेहरूको सोचाइ पनि परिवर्तन हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको हो।

‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्यौं भने देश बन्दैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘किन कि यो असाधारण दायित्व बोकेको सरकार हो।’

प्रधानमन्त्री ओलीले आइतबार सिंहदरबारमा मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै सबैलाई जवाफदेही ढंगले काम गर्न निर्देशन दिनुभयो। ‘हामी नेपाललाई मगन्तेरहित बनाउन चाहन्छौं’, उहाँले भन्नुभयो– ‘सडकमा मागेर दिन कटाउनेले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउनेछन्।’

सरकारको मूल लक्ष्य समृद्ध नेपाल, सुखी नेपाली भएकाले त्यसै आधारमा सम्पूर्ण संरचना परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो। ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनाबद्ध ढंगले काम गर्नुपर्छ। उपलब्धि देखिने गरी काम गर्नुपर्छ।’ –प्रधानमन्त्री ओलीले भन्नुभयो।

ऊर्जा, पर्यटन, सेवा, व्यापार, उद्योग आदि क्षेत्रमा उर्वर भए पनि नेपाल सधैं अभाव र गरिबीमा रहिरहने कुरा अब मान्य नहुने बताउँदै भन्नुभयो– ‘हरेक क्षेत्रमा उपलब्धि हासिल गर्नका लागि मन्त्रालय मन्त्रालयका बीच समन्वयात्मक ढंगले काम गर्नुहोस्, कसैको दबाब वा प्रभावमा कोही पनि नपर्नुहोस् र नियम कानुनबमोजिम काम गरेर जनतालाई छिटो छरितो सेवा दिनुहोस्।’

प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरूलाई समयलाई ख्याल गरेर काम गर्न निर्देशन दिँदै हरेक मिनेट समयलाई सदुपयोग गरेर काम गरेर निर्धारण गर्न र लक्ष्य प्राप्त भए नभएको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो। ‘हरेक कामका लागि लक्ष्य बनाउनुहोस्, त्यसअनुसार उपलब्धि हासिल गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘तर यस कारण, यदि यस्तो भएर भएन भन्ने छुट अब कसैलाई छैन।’

प्रधानमन्त्री ओलीले सचिवहरू बढुवा सरुवाका लागि नेताकोमा धाउने प्रवृत्ति अन्त्य हुने बताउँदै भन्नुभयो– ‘अब नेताकोमा गएर अब बढुवा वा सरुवा हुनेवाला छैन, चुस्त ढंगले काम गर्नुहोस्। जनतालाई छिटो छरितो सेवा दिनुहोस् भनसुनतिर लाग्ने र नेताको घरमा धाउने चलनले अब तपाईंको नम्बर बढ्ने होइन नम्बर घट्छ।’

सरकारले व्यवहारमै भ्रष्टाचारलाई शून्य सहनशीलताको नीति अपनाउने बताउँदै हिजोका सरकारले पनि शून्य सहनशीलता भन्थे तर कार्यान्वयनमा नदेखिएकाले अबको सरकारले भ्रष्टाचार निर्मूल गर्ने दाबी गर्नुभयो।

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई मर्यादामा बस्न निर्देशन दिँदै मन्त्री नियुक्त हुनेबित्तिकै परिवारका सदस्यहरू चलमलाउने कुरा धेरै सुनेकोप्रति भन्नुभयो– ‘त्यस्ता व्यवहार बन्द गर्नुहोस्।तपाईंका काममाथि अनुगमन हुन्छ। त्यसमाथि अर्को अनुगमन हुन्छ र, मैले पनि अनुगमन गरिरहेको हुन्छु। केही तलमाथि भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री, राज्यमन्त्री, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, मुख्य सचिव र सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूको पनि सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्