दमकलमा जनशक्ति अपर्याप्त



ललितपुर  ।  जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ । दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताए ।

महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान/बेलुका काम मिलाउँदा चार पाँच जना मात्रै तयार अवस्थामा कार्यालयमा हुन्छन् । उनले भने, ‘जनशक्ति पुग्ने नहुँदा काम गर्न गाह्रो हुन्छ ।’

आगो लाग्नासाथ कर्मचारी दमकल लिएर घटनास्थलमा पुग्ने प्रमुख महर्जनले बताए । चालक, पानी फाल्ने मान्छे, रोलिङ बोक्ने, हान्नका लागि इशारा गर्ने, पानी नियन्त्रण गर्ने लगायतले आआफ्नो जिम्मेवारीको काम गर्छन् । थोरै जनशक्ति हुँदा एक व्यक्तिले नै एकभन्दा बढी काम गर्नुपर्छ । पानीको गति धेरै हुँदा नियन्त्रणका लागि धेरै जना चाहिन्छ ।

उनले  भने, ‘धेरै गति हुँदा चार जनासम्म चाहिन्छ, त्यही काम दुई जनाले गर्न सक्दैनन् ।’महानगरपालिकामा अहिले पानी बोक्ने ट्यांक भएको दुई र नभएको दुई गरेर चार दमकल छन् । काठमाडौँं उपत्यकाका तीन वटै जिल्लाका दमकल आगलागी हुँदा सबैतिर पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्