तीनओटा कार्यालयको लेखा फाँटमा एउटै लेखापाल



विनोद सिंह विष्ट, बैतडी । बैतडीमा एउटै लेखापालले तीनतीनओटा कार्यालयको लेखा फाँट हेर्नुपर्ने बाध्यता रही आएको छ । लेखामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा समस्या भएको हो ।

एकैजना लेखापालले दुईभन्दा बढी कार्यालयको लेखाफाँट सम्हाल्दा समस्या भएको लेखापालहरुले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा एकजना लेखा अधिकृत दुईजना लेखापाल सहित तीनजनाको दरबन्दी छ । तर एकजना लेखापालले मात्रै कार्यालय हेर्नुपरीरहेको छ । लेखापाल दीपकप्रसाद ओझाले जिल्ला स्वास्थ्य कार्यालयका साथै पञ्चेश्वर गाउँपालिकाको पनि लेखा सम्लाहै आउनुभएको छ ।

जिल्ला सदरमुकामबाट पञ्चेश्वर पुग्नै एकदिन लाग्ने गर्दछ । लेखाका कर्मचारी नहुँदा समस्या भएको ओझाले बताउनुभयो । कोष तथा लेखा नियन्त्रण कार्यालय बैतडीका लेखापाल भाष्करप्रसाद पन्त, कोष, भुसंरक्षण, र जिल्ला प्राविधिक कार्यालय गरी तीन कार्यालयको लेखा फाँट हेर्दे आउनुभएको छ । संघीय पुर्नसंरचनापछि जिल्लास्थित कार्यालयका लेखापाललाई स्थानीयतहको लेखा हेर्ने जिम्मा दिएपछि कार्यबोझ बढ्दा समयमै काम हुन सकेको छैन । योजनाको दैनिक भुक्तानीमा समेत समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

स्थानीयतहले समयमै उपभोक्ता समिति गठन र लेखापाल अभावमा विकास बजेट खर्च थोरै खर्च गर्न सकेका छन् । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहदा जिल्लाका स्थानीयतहले औसतमा करिब ३० प्रतिशत मात्रै विकास बजेट खर्चेका छन् । फिल्डमा हुने योजनाको सबै काम सकिए पनि लेखापालको नियमित उपस्थिति हुन नसक्दा भुक्तानीमा ढिलाइ हुने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । लेखापाल नियमित नहुँदा वित्तीय प्रगतिसमेत गर्न नसको गाउँपालिकाले जनाएको छ ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक कार्यसम्पादनमा असर परिरहेको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।कर्मचारी र भौतिक पूर्वाधारको अभावमा स्थानीयतहबाट सहज रुपमा सेवा प्रवाह हुन सकेको छैन । दरबन्दीअनुसार कर्मचारी भए जनताले परिवर्तन महसुस गर्ने गरी विकास गरेर देखाउने सुर्नया गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताउनुभयो ।

दरबन्दीअनुसार कर्मचारी नभए सोचेअनुसार काम गर्न नसकिने अधिकांश जनप्रतिनिधि बताउँछन् । जनप्रतिनिधि पनि नयाँ, आवश्यक जनशक्ति नहुँदा जिल्लास्थित कार्यालयभन्दा स्थानीयतहले समयमा सेवाप्रवाह गर्न सकेका छैनन् । स्थानीयतहका वडामा समेत सचिव छैनन । ८४ वडामध्ये केही वडामा सचिव नहुँदा प्राविधिक साहयक र अन्य कर्मचारीले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्