विद्यालयमै सेनेटरी प्याड….



शालिकराम चालिसे, नुवाकोट ।नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको गोल्फुभञ्याङ्ग माध्यामिक विद्यालय र कौकेश्वरी माध्यामिक विद्यालयमा सेनेटरी प्याड पाएपछि विद्यार्थीहरु खुसीले हर्षीत भएका छन ।

विद्यालयमा नै सेनेटरी प्याड पाएपछि छात्राहरुले रजश्वलाकै कारण पढाई छाड्नु पर्ने वाध्यता टरेको गोल्फुभञ्याङ्ग माध्यामिक विद्यालय शिक्षिका खिलकुमारी दवाडीले बताउनुभयो । विभिन्न गैर सरकारी संस्थाहरुले विद्यालयमा महिला विद्यार्थीहरुलाई कपडा फर्न मिल्ने सम्मको शौचालय तयार गरिदिएपछि विद्यालयको झण्डै डेढ सय छात्राहरुलाई सजिलो भएको छ ।

कक्षा ६ देखि १० सम्मका छात्राहरुले मासिक १० रुपैयाँ संकलन गरेर सेनेटरी प्याडको ब्यवस्था गर्दै आएका छन् । त्यसको व्यवस्थापन र रेखदेखका लागि गोल्फुभञ्याङ्ग माध्यामिक विद्यालयले शिक्षिका खिलकुमारी दवाडीलाई जिम्मा दिएको छ । महिनावारी हुँदा छात्राहरुले नहिचकिचाईकन प्याड माग्ने र प्रयोग गर्ने गरेको शिक्षिका दवाडी बताउनुहुन्छ ।

गतवर्ष देखि प्रयोगमा आएको यो शौचालयका कारण छात्राहरुलाई सहज भएको छ । कक्षाकोठा वा विद्यालयमा महिनावारी हुँदा कपडा फेर्न घर जानुपर्ने र केही दिन कक्षामा अनुपस्थिति हुने समस्याको समाधान समेत भएको लामिडोल्मो तामाङले बताउँनुभयो ।

विद्यालयमै छात्राहरुको लागि सेनेटरी प्याडको ब्यवस्था भएपछि रजश्वलाकै कारण पढाई छाड्नु पर्ने वाध्यता टरेको तामाङले बताउँनुभयो ।

त्यस्तै दुप्चेश्वर गाउँपालिकाकै कौकेश्वरी माविमा पनि विद्यालयमा छात्राका लागि यस्तै सुविधा भएका शौचालय तयार भएको छ । जसले गर्दा छात्राहरु उत्साही भएको र पठनपाठनमा थप बल मिलेको निमित्त प्रधानाध्यापक बासुदेव खनालले बताउनुभयो ।

त्यस्तै नुवाकोटकै तारकेश्वर गाउँपालिकाको बुधसिङ्गमा रहेको चण्डी माविमा पनि यस्तै शौचालय तयार भएको छ । सामाजिक संस्थाहरुको आर्थिक सहयोगमा तयार भएको महिलाको कपडा फर्ने तथा सेनेटरी प्याड प्रयोग गर्न मिल्ने र ब्यवस्थित रुपमा जलाउन मिल्ने शौचालयका कारण यस विद्यालयमा पनि त्यस्तै सकारात्मक प्रभाव परेको छ ।

स्वास्थ्य जस्तो सम्वेदनशिल विषयमा अप्ठ्यारो मान्न नहुने र त्यसमा छात्राहरु खुल्दै जान थालेको चण्डी माविका प्रधानाध्यापक हरिहर पण्डितले बताउनुहुन्छ । यसरी निर्माण भएको शौचालयको अनुशरण अन्य विद्यालयहरुमा पनि हुनु पर्ने जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका ठाकुर पौडेलले बताउनुभयो ।

नुवाकोटको यी तीन वटा विद्यालयमा प्रयोगमा आएको छात्रा मैत्री शौचालयको चर्चा विस्तारै जिल्लामा फैलन थालेको छ । महिनावारी हुँदा विद्यालयमै सेनेटरी प्याड प्रयोग गर्न सकिने शौचालयले छात्राहरुलाई सहजता मिलेको भन्दै अन्य स्थानका विद्यालयहरुमा पनि यसको माग बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्