स्वास्थ्यका पक्की भवन सहित गाउँ पस्यो क्रिडाक



मोतीराम तिमल्सिना, काभ्रे । विभिन्न सामाजिक संस्थाहरु मार्फत ३० वटा स्वास्थ्य चौकी निर्माणको सम्झौता भएर काम शुरु हुन नसकिरहेको अवस्थामा क्रिडाक ७ वटा पक्कि भवन निर्माणको तालिका बोकेर गाउँ पसेको छ ।

भवन निर्माणको चरण शुरु गर्न सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटा, प्रदेश सभा सांसद रत्न ढकाल सहित सरकारी र सामाजिक संस्थाको टोली गाउँ पुगेर फर्किएको छ । टिडिएचको आर्थिक सहयोगमा क्रिडाक नेपालले जिल्लाको विकट कोशीपारीका स्वास्थ्य संस्था बनाउन सुरु गरेको छ ।

१४ करोड भन्दा धेरै लागतमा जिल्लाका सात स्वास्थ्य संस्था पुन निर्माण सुरु गरिएको जिल्ला कार्यक्रम संयोजक राजन भुर्तेलले बताए । भुम्लु गाउँपालिका–८ को भुम्लुटार तथा कोशीपारीको चौरीदेउराली गाउँपालिका–३ को माझिफेदा स्वास्थ्य चौकीको उद्घाटन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा र प्रदेश सांसद रत्न ढकालले गरेका थिए ।

भुम्लुटारको स्वास्थ्य चौकी शिलान्यास गदै मन्त्री बास्कोटाले समयमै काम सक्न तथा गुणस्तर काम गर्न सुझाव दिएका थिए । बन्न लागेको स्वास्थ्य भवनको गुणस्तरमा ख्याल राख्न स्थानीयलाई आग्रह गर्दै मन्त्री बास्कोटाले विदेशीलाई भनेर भवन बनाउनु पर्ने हाम्रो बाध्यता अन्त्य गर्न सरकारले योजना ल्याउने बताए ।

‘तपाईहरुले हाम्रो होइन भनेर नभन्नुहोला, भवन हाम्रो हो, स्वास्थ्य पनि हाम्रो हो, सबैले मिलेर छिटो बनाउन थालौ’–उनले भने । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले स्वास्थ्य चौकीहरुमा कर्मचारी अभाव भएको बताए । वडा अध्यक्ष मोतिलाल तामाङको सभापत्विमा कार्यक्रम सम्पन्न भएको थियो ।

माझिफेदा स्वास्थ्य चौकीको शिलान्यास गर्दै प्रदेश सांसद रत्न ढकालले आधारभूत उपचार पाउने नागरिकको नैसर्गिक अधिकार भएको बताए । आगामी ५ बर्ष भित्रमा हरेक नागरिकलाई स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, सञ्चार लगायतको सेवा सरल र सुलभ उपलब्ध गराउने सरकारको तयारी रहेको सांसद ढकालले बताए । शिलान्यास कार्यक्रममा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक प्रणय उपाध्यायले ३१ जिल्लामा १२ सय स्वास्थ्य संस्था पूर्ण क्षति भएको बताए ।

५ बर्षमा सक्ने गरि स्वास्थ्य चौकीको विभिन्न संघ संस्थाको सहयोगमा पुन निर्माण भइरहेको बताउँदै उनले ५ सय ४५ वटा पुर्न निर्माण सकिएको बताए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेन्द्र प्रसाद चौरासियाले विभिन्न संघ संस्थाहरुको सहयोगमा जिल्लाका स्वास्थ्य चौकीहरु पुन निर्माण थालिएको बताए ।

जिल्लाका ८५ स्वास्थ्य चौकी, ४ प्राथमिक स्वास्थ्य केन्द्र, ३ उपस्वास्थ्य चौकी, एक अस्पताल र ७ नगर स्वास्थ्य केन्द्र गरी ९३ इकाइ मध्ये ८१ वटा स्वास्थ्य केन्द्र पुर्ण तथा आंशिक रुपमा क्षतिग्रस्त भएका थिए । ती मध्ये अनेकोट, दोलालघाट, वालुवापाटी, होक्से र देविटार स्वास्थ्य चौकी दाताको सहयोगमा प्रिफेवको संरचना बनेर सेवा दिइरहेको उनले बताए । अधिकांश स्थानमा क्रिडाकले सहयोग गरेको छ ।

भवन निर्माण आर्थिक सहयोग उपलब्ध गराउने टिडिएचका निर्माण बिशेषज्ञ एन्ड्रियाज बोल्डले सन २०१८ भित्रमा भवन नेपाल सरकारलाई हस्तान्तरण गरिसक्ने बताए । ओपीडि, बर्थिङ सेन्टर, स्वास्थ्य कर्मीलाई आवास सहितको सुविधा सम्पन्न भवन बनाउन शुरु गरिएको उनले बताए । क्रिडाक नेपालका कार्यक्रम निर्देशक गोविन्द शाहीले स्थानीयहरुको सहयोग पाए समय अगाबै भवन बनाइसक्ने बताए ।

कर्णलीको क्षेत्रमा मात्र काम गर्न उक्त संस्थाले काभे्रको कोशीपारि दोस्रो कर्णाली भन्ने बुझेर स्वास्थ्यचौकी निर्माण सुरु गरिएका बताए । कार्यक्रममा समाजसेवी लेखराज गौतम, वडा अध्यक्ष बिनोद घिसिङ लगायतले स्वास्थ्य संस्थाहरुको अभावमा नागरिकले झेल्नु परेको स्वास्थ्य सेवाका बारेमा गुनासो गरेका थिए ।

जिल्लाका गैरसरकारी संस्थाले सन् २०१८ सम्ममा निर्माण सकाउने प्रतिवद्धता सहित पुन निर्माण जिम्मा लिएका भएपनि अधिकासंले अझै सुरुवात गर्न सकेका छैनन । स्वास्थ्य कार्यालयका अनुसार युनिसेफले १०, रेडक्रसले १२, आड्राले ४ र टेरेडेस होमले ४ वटा भूकम्प प्रतिरोधि भवन निर्माण गरिदिने सम्झौता गरेपनि शुरु हुन सकेको छैन ।

क्रिडाक नेपालले प्रिफेव मोडलका बालुवापाटी, अनेकोट, देविटार र दोलालघाटका स्वास्थ्य चौकी बनाएर हस्तान्तरण पछि स्थानीयहरुले सेवा लिन शुरु गरिसकेका छन् । त्यस्तै सिसाखानी, महादेवटार, खनालथोक, संस्र्युखर्क, फलाँटे, सल्लेभुम्लु, भुम्लुटार, सापिङ्ग, माझिफेदा, कुशादेवी र खार्पाचोक गाउँमा पक्कि स्वास्थ्य चौकीको निर्माण शुरु गरिएको कार्यक्रम संयोजक भुर्तेलले बताए ।

प्रतिक्रिया दिनुहोस्