बर्षौंदेखि महाकालीको दुषित पानी पिउन बाध्य



विनोद सिंह विष्ट, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा नं १० तीरखडेनीका स्थानीयबासिन्दा बर्षौंदेखि महाकाली नदीको दुषित पानी पिउन तथा प्रयोग गर्दै आईरहेका छन् । गाउँमा खानेपानीको सुविधा नहुँदा आफूहरु महाकालीको दुषित पानी प्रयोग गर्न बाध्य भएको तिरखडेनीका धाना बुडालले बताउनुभयो ।

उहाँले भन्नुभयो “बर्षातको समयमा महाकालीमा भेल आएको बेला समेत सोही पानी प्रयोग गर्न बाध्य भएका छौ” तीरखडेनीका करीब ५० घरपरिवार खानेपानीको चरम समस्या भोगीरहेका छन् । आफूहरुलाई खानेपानीको निकै सकस भएको स्थानीयबासी जयन्ती बुडालले बताउनुभयो । उहाँले भन्नुभयो “महाकाली किनारका बासिन्दालाई खानेपानीकै समस्याले पिरोलेको हुन्छ ।”

महाकालीमा भेल आउँदा खानेपानी भर्न लगेका भाडाकुँडा समेत नदीले बगाएको स्थानीय बासिन्दाले बताएका छन् । आफूहरु बर्षौंदेखि दुषित पानी प्रयोग गर्दै आईरहेको र अहिले सम्म कसैले समस्या समाधान नगरेको स्थानीय नारु बोहराले बताउनुभयो । निर्वाचनका बेला सबै राजनीतिक दलहरुले गाउँमा खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपनि कसैले पनि आफ्ना प्रतिबद्धता पूरा नगरेको स्थानीयबासीको गुनासो छ ।

महाकाली किनारका तिरखडेनी र सिम्तडीका बासिन्दाहरुले खानेपानीको निकै समस्या भोग्नुपरेको स्थानीय हरिना पन्तले बताउनुभयो । आफूहरुले सरोकारवालाहरुसंग पटक पटक आग्रह गरेपनि केही पहल नभएको स्थानीयबासीको गुनासो छ । नगरपालिकाका बासिन्दा भएर पनि आफूहरुलाई नगरबासीको अनुभूती हुन नसकेको महाकाली तटीय क्षेत्रका बासिन्दाहरुले बताएका छन् । दुषित पानी पिउदा विभिन्न रोगको संकमण समेत देखिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्