घरघरमै भत्ता पाउँदा बृद्धबृद्धा खुसीले दंग



पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले दैलो दैलोमा भत्ता बितरण गरेकोमा लाभग्राहिहरु हर्षित छन् । विगतमा परिवारले सदस्यसहित फलेबास र कुश्मासम्म सामाजिक सुरक्षा भत्ता लिन जान बाध्य हुने गरेका लाभग्राहिहरु घरमै भत्ता पाउन थालेकोमा राहातको महसुस गरेका हुन् ।
वडा अध्यक्ष जिवन विक्रम उच्चैले वडा कार्यालयले घरदैलोमै भत्ता दिन शुरु गरेको बताए । वडा नम्बर ५ लुंखुदेउरालीका कविर गुरुङले घरमै भत्ता पाएकोमा सदरमुकाम जानुपर्ने बाध्यता टरेको बताए ।

‘यसअघि सदरमुकाम कुश्मामा जाँदा दुःख हुन्थ्योे,’ गुरुङले भने,‘अव घरमै भत्ता पाउदा मन निकै खुशी भएको छु । उनले भने–‘भत्ता लामो बर्षदेखि बुझ्दै आएपनि बल्ल आफुले सम्मान पाएको महसुस गरेको छु ।’

घरमै जनप्रतिनिधीले भत्ता दिएकोमा महाशिला–५ लुंखुदेउरालीकै ८८ बर्षिय प्रसाद गुरुङ पनि फुरुङ्ग छन् । ‘बिस्तारामै भत्ता बुझ्ने दिन पनि आउने रहेछ,’ प्रसाद गुरुङले भने,‘ जनप्रतिनिधीले घरमै पैसा ल्याईदिएकोमा उहाँहरुलाई आशिष दिन चाहान्छु ।’ उनले सामाजिक सुरक्षा लिन थालेको एक दशकबढी भएपनि गत साउनदेखि घरमै भत्ता पाउन थालेको बताए ।

‘असारमसान्तसम्म भत्ताका लागि बैंकमा धाउनुपर्ने बाध्यता थियो’ उनले भने–‘नजिक बैंक नहुँदा भत्ता बुझ्नभन्दा बढी दुःख भएका कारण समस्यामा थियौ ।’ उनले घरघरमै भत्ता बितरणको ब्यवस्थापन मिलाउदा आफुजस्तै बिस्तारामा परेका बृद्धबृद्धाले निकै ठुलो राहत पाउने बताए ।

‘बिचमा फेरी घरमै आएर भत्ता दिने अभियान नरोकियोस्’ उनले भने–‘बृद्धबृद्धालाई सम्मान र संरक्षणका लागि सरकारले भत्ता दिएको हो भने घरमै पुगेर उनीहरुकै हातमा बुझाउने ब्यवस्था हुनुपर्छ ।’ महाशिला ५ ले कविर र प्रसादजस्तै वडामा सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठ नागरिक, बालबालिका, अपांग, एकल महिलाको भत्ता घरघरमै पुगेर बितरण गर्न थालेको छ । वडा अध्यक्ष जीवन विक्रम उच्चैले वडाका चार सय ३० जनाले भत्ता पाउने र सबैलाई गत साउनमहिनादेखि नै घरघरमै भत्ता बितरणको ब्यवस्था मिलाएको जानकारी दिए ।

‘विगतमा बैंकमार्फत भत्ता पाउने ब्यवस्था थियो, त्यसबाट लक्षितबर्ग निकै समस्या र दुःख पाइरहेको थिए’ उनले भने–‘उनीहरुको मर्का देखेर वडाले घरघरमै कर्मचारी परिचालन गरेर चौमासिक रुपमा भत्ता बितरणको ब्यवस्था मिलाएका छौ ।’ जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका, बालबालिकालाई सम्मानका लागि भत्ता दिएको हो भने उनीहरुको हातहातमै भत्ता पाउने ब्यवस्था बनाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्